बैतडी–पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर बैतडीमा ३३ महाअभियान घोषणा गरिएको छ ।
बैतडीको गुरुखोलाबाट अभियानको घोषणा गरिएको संयोजक अमरबहादुर टेरले बताए । केही दिन पहिलामात्रै नेपाली कांग्रेस परित्याग गरेका टेरले महाअभियानको घोषणा गरेका हुन् ।
सनातन धर्मको रक्षाका निम्ति आफूले महाअभियान घोषणा गरेको र यसमा युवाहरुको साथ जुट्दै गएको उनले दाबी गरे ।
नागरिकका आधारभूत आवश्यकता सरकारले पूरा गर्नुपर्ने, युवाहरुलाई प्रविधियुक्त सीप दिएर रोजगारी दिनुपर्ने, जनमुखी सरकार हुनुपर्ने, प्रदेश संरचना खारेज हुनुपर्ने, सुधारिएको लोकतान्त्रिक व्यवस्था हुनुपर्ने, विज्ञान प्रविधिमा आधारित आध्यात्मिक समाजवाद लागू हुनुपर्ने, गाउँ, गौमाता, स्वाभिमान र पहिचानको रक्षा हुनुपर्ने, नेपालीको लगानीमा आयोजनाहरु सञ्चालन गर्नुपर्ने, पर्यटन व्यवसाय सञ्चालन गर्नुपर्ने लगायतका कुराहरु अभियानमा उल्लेख गरिएको छ ।
यस्तै जडीबुटी र अन्य प्राकृतिक श्रोतहरुको प्रशोधन गरी विश्व बजारमा लैजानुपर्ने, सनातन संस्कारयुक्तको शिक्षाको विकास गर्नुपर्ने, आँफैबाट स्वजागरण पैदा गर्नुपर्ने कुरा अभियानको लक्ष्य रहेको टेरले बताए ।
युवाहरुले अब राजनीतिक दलहरुभन्दा माथि उठेर स्वतन्त्र रुपमा सनातनको रक्षा गर्नुपर्ने उनको जिकिर रहेको छ । सनातन धर्ममाथि आक्रमण भइरहेको भन्दै उनले सबै युवाहरुलाई एकजुट हुन आग्रह समेत गरेका छन् ।




