Sagun Khabar
प्रतिनिधिसभा निर्वाचन : बैतडीमा १ हजार ३७५ जना निर्वाचन प्रहरी भर्ना गरिने 

बैतडी–आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा १ हजार ३७५ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।

निर्वाचन प्रहरी भर्ना, छनोट तथा नियुक्ति समितिले जिल्लामा आवश्यक पर्ने निर्वाचन प्रहरीका लागि दरखास्त आह्वान गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । नेपाल प्रहरीतर्फ १ हजार २७९ जना र सशस्त्र प्रहरी बल नेपालतर्फ ९६ जना निर्वाचन प्रहरी भर्ना  गरिने उनले बताए । 

निर्वाचन प्रहरीका लागि आगामी माघ १ गतेसम्म आवदेन दिन सकिने प्रहरी निरीक्षक सिंहले बताए । जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीमा आवदेन दिन सकिने बताइएको छ । 
निर्वाचन प्रहरीमा छनौट भएकाहरुलाई निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत कार्यविधि २०८२ बमोजिम सुविधा उपलब्ध गराइनेछ । 

निर्वाचन प्रहरीका लागि दरखास्त दिने व्यक्ति १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने प्रहरी निरीक्षक सिंहले बताए । 

विशेष गरी पूर्व सुरक्षाकर्मी, पूर्व वन रक्षक, यसअघि म्यादी प्रहरीका रूपमा काम गरिसकेका व्यक्ति तथा सुरक्षा निकायबाट सेवानिवृत्त भएकालाई प्राथमिकता दिइने जनाइएको छ । 

बैतडीमा निर्वाचन प्रहरीका लागि आवेदन दिनेको संख्या बढ्दै गएको प्रहरी निरीक्षक सिंहले बताए । 

आवेदकको प्रारम्भिक छनोट माघ ५ देखि ९ गतेसम्म गरिने र अन्तिम नतिजा माघ १२ गते प्रकाशित गरिने छ । छनोट भएका निर्वाचन प्रहरीलाई माघ १५ देखि २४ गतेसम्म तालिम तथा प्रशिक्षण दिइनेछ ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update