बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौं, मेलाखानस्थित जनकालिका बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष पदका लागि चुनाव हुने भएको छ ।
सहकारी संस्थाको शनिबार भएको २८ औं बार्षिक साधारण सभामा अध्यक्ष पदका लागि तीन जना आकांक्षी देखिएपछि चुनाव हुने भएको हो । सहकारी संस्था सञ्चालक समितिको अन्य पदमा भने सर्वसम्मत पदाधिकारी र सदस्यहरु चयन भएका सहकारी संस्थाका कार्यकारी प्रमुख प्रेमसिंह बोहराले बताए ।
अध्यक्ष पदका लागि मनोजबहादुर बोहरा, केशवबहादुर बोहरा र प्रकाशबहादुर बोहरा आकांक्षी देखिएका छन् । अध्यक्ष पदमा सहमति नभएपछि दशरथचन्द नगरपालिकाका सहकारी विभाग प्रमुख अम्बादत्त बोगटीको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । उक्त समितिले चुनावको मिति घोषणा गर्ने कार्यकारी प्रमुख बोहराले बताए ।
सहकारी संस्थाको उपाध्यक्षमा बीरबहादुर बोहरा पुनः सर्वसम्मत चयन भएका छन् । यस्तै सचिवमा भानबहादुर बोहरा, कोषाध्यक्षमा चेतनबहादुर बोहरा लगायत अन्य सदस्यहरु सर्वसम्मत चयन भएका कार्यकारी प्रमुख बोहराले बताए ।
यसअघि शनिबार सहकारी संस्थाको २८ औं बार्षिक साधारण सभाको उद्दघाटन सत्रमा सहकारी संस्थाको आय–व्यय प्रतिवेदन, अध्यक्षको प्रतिवेदन पेश गरिएका थिए । साधारण सभामा पेश भएका सबै प्रतिवेदनहरु पारित भएका छन् ।
सहकारी संस्थाको बार्षिक साधारण सभामा ४ करोड ४३ लाख ७८ हजार ७६० रुपैयाँ बराबरको आयव्यय विवरण पेश गरिएको थियो ।
सहकारी संस्थाका अध्यक्ष खडकबहादुर बोहराको अध्यक्षतामा भएको बार्षिक साधारण सभामा दशरथचन्द नगरपालिका–२ का अध्यक्ष सूर्यबहादुर बोहरा प्रमुख अतिथी रहेका थिए ।
२०५३ सालमा कालिका बचत समूहबाट शुरुवात गरिएको जनकालिका बचत तथा ऋण सहकारी संस्था २०५६ साल वैशाख १ गतेदेखि सञ्चालनमा रहेको छ ।
९ सय शेयर सदस्य रहेको जनकालिका बचत तथा ऋण सहकारी संस्थामा संस्थामा ४ सय बालबचतकर्ता रहेका संस्थाका कार्यकारी प्रमुख प्रेम बोहराले बताए । यस्तै संस्थाले संस्थागत, दैनिक, ऐच्छिक र आवधिक बचत गर्दै आएको उनले बताए ।
जनकालिका बचत तथा ऋण सहकारी संस्थामा ३ करोड ६२ लाख ५५ हजार ३५६ रुपैयाँ बचत रकम रहेको छ भने ४ करोड २५ लाख १२ हजार ६०६ रुपैयाँ ऋण लगानि गरेको छ । यस्तै सहकारी संस्थामा ३२ लाख ६५ हजार ८ सय रुपैयाँ शेयर पूँजी रहेको कार्यकारी प्रमुख बोहराले बताए ।
जनकालिका बचत तथा ऋण सहकारी संस्थामा १० ओटा विभिन्न कोषहरु रहेका छन् । ती कोषहरुमा ३३ लाख ७५ हजार ७ सय २७ रुपैयाँ रहेको अध्यक्ष बोहराले बताए । यस्ता कोषहरुमा जगेडा कोष, संरक्षण पूँजी कोष, संस्था विकास कोष, ऋण हानि कोष, पूँजी फिर्ता कोष, समुदाय विकास कोष, ऋण डुबन्त कोष, शेयर लाभांश कोष, सामाजिक विकास कोष, मातृत्व विकास कोष रहेका छन् ।




