बैतडी–बैतडीको पाटन नगरपालिका–८ का जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गरिएको छ ।
जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत घरदैलोमै पुगेर कम्बल वितरण गरिएको वडा अध्यक्ष हरिश बिष्टले बताए । वडाभरीका १९ जना जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गरिएको उनले बताए ।
चालु आर्थिक बर्षमा जेष्ठ नागरिकहरुलाई सम्मान गर्न ३५ हजार बजेट विनियोजन गरिएको र उक्त बजेटबाट कम्बल खरीद गरि वितरण गरिएको वडा अध्यक्ष बिष्टले बताए ।
वडा अध्यक्ष हरिश बिष्टको नेतृत्वमा रहेको टोलीमा वडा सदस्य र वडाका कर्मचारी समेत सहभागी थिए ।
यस्तै चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका तर नवीकरणका क्रममा बायोमेट्रिक भेरिफिकेसन हुन नसकेका लाभग्राहीहरूका लागि वडा कार्यालयले थप सहजीकरण गरेको छ ।
टोल–टोलमै पुगेर बायोमेट्रिक भेरिफिकेसन प्रमाणीकरण कार्यलाई निरन्तरता दिइएको वडा अध्यक्ष बिष्टले बताए । वडामै पुगेर बायोमेट्रिक भेरिफिकेसन कार्य सञ्चालन हुँदा विभिन्न कारणले वडामा पुग्न नसकेका लाभग्राहीहरुलाई सहज भएको छ ।




