बैतडी –भूमी समस्या समाधान आयोग जिल्ला समिति बैतडीले पञ्चेश्वरमा जग्गा नाप जाँच शुरु गरेको छ ।
पालिकाभित्र रहेका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीका लागि जग्गा नाप जाँच शुरु गरिएको भूमि समस्या समाधान आयोग जिल्ला समिति बैतडीका अध्यक्ष रमेशदत्त पाण्डेयले बताए ।
पञ्चेश्वर गाउँपालिकाले प्रमाणीकरण गरेका परिवारहरुको लागि जग्गा नाप जाँच शुरु गरिएको हो । गाउँपालिकाले जमीन एकीन गर्नुका साथै भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको प्रमाणीकरण गरेपछि जग्गा नाप जाँचको काम अगाडि बढेको अध्यक्ष पाण्डेयले बताए ।
पञ्चेश्वर गाउँपालिकाको वडा नं १, ३ र ४ मा जग्गा एकीन र प्रमाणीकरणको काम सकिएकाले वडा नं.१ बाट जग्गा नाप जाँचको काम शुरु गरिएको हो ।
बिहीबार मात्रै गाउँ कार्यपालिकाले जग्गा नाप जाँचका लागि भूमि समस्या समाधान आयोग जिल्ला समितिलाई लिखित पत्राचार गरेको थियो । सोही अनुसार आजदेखि नाप जाँच कार्य शुरु भएको अध्यक्ष पाण्डेयले बताए ।
वडा नं १ मा आज एक कार्यक्रमको आयोजना गरेर जग्गा नाप जाँच कार्य शुरु गरिएको छ । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्द, उपाध्यक्ष बिना भट्ट, आयोगकाविज्ञ सदस्य जगदीश नायक, भूमि अधिकारकर्मी नरीराम लुहार लगायतको उपस्थिती रहेको थियो ।
पञ्चेश्वर गाउँपालिकामा जग्गा नाप जाँचका लागि एक जना सर्वेक्षक र चार जना अमीन गरि पाँच जना प्राविधिकको टोली खटाएको अध्यक्ष पाण्डेयले बताए ।
पञ्चेश्वर गाउँपालिकाभित्र ५ सय ४१ परिवार भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी रहेका तथ्यांक छ ।
जग्गा नाप जाँच पछि फिल्ड बुक र श्रेष्ता तयार पारेर उनीहरुलाई लालपूर्जा वितरण गरिने भूमि समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष पाण्डेयले बताए ।
चालु आर्थिक बर्षको अन्त्यसम्म आयोगको जिल्ला समितिले ७५ प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य राखेको बताइएको छ ।




