बैतडी–सुदूरपश्चिम क्षेत्रका नेपाली कांग्रेसका ६ जिल्ला सभापतिहरुले संयुक्त विज्ञप्ति निकालेर विशेष महाधिवेशनलाई ‘विधान विपरीत’ भन्दै सहभागी नहुन अपिल गरेका छन् ।
बझाङ जिल्ला सभापति खडकबहादुर बोहरा, डोटी सभापति नरेन्द्रबहादुर सिंह, डडेलधुरा सभापति भिम साउँद, अछाम सभापति पुष्पबहादुर शाह, कञ्चनपुर सभापति पदम बोगटी र कैलाली सभापति नारायणदत्त भट्टले संयुक्त विज्ञप्ति निकालेर विशेष महाधिवेशनमा सहभागी नहुन अपिल गरेका हुन् ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समर्थनमा काठमाडौंको भृकुटीमण्डपमा यही पुस २७ र २८ गते विशेष महाधिवेशन हुँदैछ । कतिपय जिल्ला सभापतिहरु विशेष महाधिवेशनको पक्षमा खुलिरहेका बेला सुदूरपश्चिमका जिल्ला सभापतिहरुले भने विशेषको सट्टा नियमित महाधिवेशन नै गर्नुपर्ने बताएका छन् ।
पार्टीको विधानमा व्यवस्था भए बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष अधिवेशन बोलाउने अधिकार व्यक्तिगत रुपमा कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केबल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको भन्दै उनीहरुले अहिले हुन लागेको विशेष महाधिवेशनलाई विधान विपरीत भनेका छन् ।
उनीहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन र माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा एकताबद्ध भएर लाग्न पनि आह्वान गरेका छन् ।
विशेष महाधिवेशन पक्षधरले भने महाधिवेशन प्रतिनिधिहरुको माग अनुसार विशेष महाधिवेशन गर्न लागेकाले विधानसम्मत भएको बताउँदै आएका छन् ।




