बैतडी –आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा बैतडी जिल्लामा राजनीतिक गतिविधि बढ्दै गएको छ । विभिन्न राजनीतिक दलका सम्भावित उम्मेदवारहरू निर्वाचन क्षेत्र केन्द्रित गतिविधिमा सक्रिय देखिन थालेका छन् ।
निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरुले उम्मेदवार सिफारिश गरेका छन् । उम्मेदवार सिफारिश भएका नेताहरुसहित दलहरु गाउँ–गाउँमा पुगेर मतदाताहरुसँग भेटघाट गर्ने कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
आगामी प्रतिनिधि सभाका लागि नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाले उम्मेदवार सिफारिश गरिसकेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिष्ट पार्टीले पनि उम्मेदवार सिफारिशको तयारी गरेका छन् ।
नेपाली कांग्रेसले मत विभाजन प्रक्रियाबाट सभापति चतुरबहादुर चन्दको नाम सिफारिश गरेको छ भने एमालेले केन्द्रीय सदस्य दामोदर भण्डारीको एकल नाम सर्वसम्मत सिफारिश गरेको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा भुपेनबहादुर चन्दलाई उम्मेदवारका रुपमा अघि सारेको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले हरिमोहन भण्डारीलाई उम्मेदवारको रुपमा अघि सार्ने तयारी गरिरहेको भएपनि औपचारिक निर्णय हुन बाँकी रहेको रास्वपाका सुदूरपश्चिम संस्थापक महामन्त्री भोजराज जोशीले बताए ।
यस्तै नेपाली कम्युनिष्ट पार्टीले जिल्लाबाट नेता परमानन्द भट्ट र नरेन्द्र कुँवरको नाम उम्मेदवारका लागि सिफारिश गर्ने तयारी गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पालिका अधिवेशनसँगै चुनावी अभियान पनि सञ्चालन गरिरहेको राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए ।
पछिल्लो समय शहरदेखि गाउँसम्म निर्वाचनलाई लिएर चर्चा, परिचर्चा र बहससमेत बढ्न थालेको छ ।
यसैबिच, जिल्ला निर्वाचन कार्यालय बैतडीले निर्वाचन केन्द्रित आन्तरिक तयारी शुरु गरिसकेको जनाएको छ । निर्वाचनका लागि आवश्यक सामग्री ढुवानी, जनशक्ति खोजी तथा व्यवस्थापनको काम प्रारम्भ गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले बताए ।
आगामी निर्वाचनका लागि बैतडीमा एक लाख ५६ हजार ३ सय ७२ मतदाता कायम भएका छन् । यो सङ्ख्या अघिल्लो निर्वाचनको तुलनामा ६ हजार २ सय १६ ले वृद्धि भएको निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा एक सय २९ मतदानस्थल कायम गरिएको छ भने मतदान केन्द्रको सङ्ख्या २ सय १४ पुगेको छ । अघिल्लो निर्वाचनमा जिल्लामा २ सय १० मतदान केन्द्र रहेका थिए । सिगास गाउँपालिका–४ को वडा कार्यालय भवन कान्धार, दशरथचन्द नगरपालिका–७ को केदारशीला आधारभूत विद्यालय सुर्काल, वडा नं ९ को केदार आधारभूत विद्यालय सीम लोडासौं, शिवनाथ गाउँपालिका–३ को श्रीपूर आधारभूत विद्यालय बछला तथा पाटन नगरपालिका–५ को त्रिपुरेश्वर मावि कुलडामा नयाँ मतदान केन्द्र थप गरिएको सूचना अधिकारी दयालले बताए ।
यस्तै निर्वाचन कार्यालयले अस्थायी मतदाताको विवरण सङ्कलन कार्यलाई पनि तीव्र बनाएको छ । स्थानीय, प्रदेश तथा सङ्घीय तहका कर्मचारी, सुरक्षा निकाय, कारागार तथा वृद्धाश्रममा रहेका व्यक्तिहरूको विवरण सङ्कलन भइरहेको सूचना अधिकारी दयालले बताए ।




