बैतडी –लगातारको खडेरीले बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा गहुँबाली सुकेको छ । यो बर्ष हिउँदे बर्षा नहुँदा गहुँबाली सुकेको किसानहरुले बताएका छन् । पौष अन्तिम साता लागिसक्दा समेत यो बर्ष हिउँदे बर्षा भएको छैन् । लगातारको खडेरीले गहुँबाली सुकेको दशरथचन्द नगरपालिका १ का किसान कृष्णदत्त भट्टले बताए । लामो खडेरीका कारण गहुँबाली सुक्दै गएको उनले बताए । उनले भने ‘यो बर्ष खडेरीका कारण गहुँबाली सुकेको छ । खेत बाँझै भएका छन् । गहुँबाली सुकेपछि के खाने भन्ने चिन्ताले सताउन थालेको छ ।’
सिँचाइको सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव बढी परेको किसानहरुले बताएका छन् । सिँचाइ सुविधा नभएकै कारण खेतमा लगाएको गहुँबाली सुक्न थालेको पाटन नगरपालिका–४ चिल्लेपानीको जयबहादुर ऐरीले बताए । उनले भने ‘खडेरीका कारण अधिकांश गहुँबाली सुकिसकेको छ । अझै पानी पर्ने छाँटकाँट देखिएको छैन् । यो बर्ष गहुँको उत्पादनमा कमी आउने देखिएको छ ।’
लगातारको खडेरीले गहुँबाली सुकेपछि भोकमरी हुने चिन्ता थपिएको पाटन नगरपालिका– ४ कै नारद ऐरीले बताए । खडेरीका कारण जनजीवन प्रभावित भएको उनले बताए ।
सिँचाइ सुविधा नभएका उच्च लेकाली र हिमाली क्षेत्रमा गहुँबाली सुकेको किसानहरुले बताएका छन् । हिमपात हुने समयमा पानी समेत नपरेपछि बालीनाली हुर्कन नपाएको किसानहरुको भनाइ रहेको छ ।
बर्खेबाली मध्येको मकैमा जंगली जनावर क्षति पुर्याउँदा हरेक बर्ष उत्पादनमा कमी आउने गरेको छ । हिउँदमा खडेरीका कारण गहुँ उत्पादनमा कमी आउने गरेको किसानहरुले बताएका छन् ।
बैतडीमा १५ हजार ४ सय हेक्टर जमीनमा गहुँखेती हुँदै आएको छ । यो मध्ये आधा भन्दा बढी जमीनमा सिँचाइ सुविधा छैन् । । सिँचाइ सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव परेको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीले बताए । उनले भने ‘खडेरीका कारण गहुँबाली उत्पादनमा ह्रास आउन सक्छ । लगातारको खडेरीले गहुँबालीमा नराम्रो प्रभाव परेको छ ।’
गहुँबाली उम्रेको २१ दिनभित्र सिँचाइको आवश्यकता पर्ने भएपनि सिँचाइ सुविधा नभएका ठाउँमा समस्या भएको छ । खडेरीका कारण हिउँदेबालीको उत्पादनमा कमी आउने भएपनि खाद्यान्न आयातमा वृद्धि हुने देखिएको छ ।
यस्तै दार्चुलाका अधिकांश ठाउँका खडेरीका कारण हिउँदेबाली सुक्दै गएको छ । गहुँ, जौं, उवा लगायतका बालीहरु सुक्दै गएका स्थानीयहरुले बताएका छन् ।




