Sagun Khabar
बैतडीमा सशस्त्र प्रहरीद्वारा शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण 

बैतडी –सशस्त्र प्रहरीले बैतडीको एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरेको छ । 

२५ औं सशस्त्र प्रहरी बल स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम सञ्चालनमा रहेका र सोही कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति, सशस्त्र प्रहरी नायव उपरीक्षक जंगबहादुर कुँवरले बताए । 

सुर्नया गाउँपालिका–७ स्थित भुवनेश्वर मावि पत्थरकोट, चौथालीका विद्यार्थीहरुलाई शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरिएको विद्यालयका शिक्षक उत्तरबहादुर कुँवरले बताए । 

विद्यालय अध्ययनरत १ सय ३० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री र १३ जना टुहुरा तथा असहाय विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको गुल्मपति कुँवरले बताए । 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा पोशाक वितरण कार्यक्रममा सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवर, सुर्नया गाउँपालिका वडा नं ७ का अध्यक्ष भक्तबहादुर कुँवर, विद्यालयका प्रधानाध्यापक नन्दराम अवस्थी, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो । 

यसका साथै विद्यार्थीहरुका लागि लागू औषध दुर्व्यसन नियन्त्रणका बिषयमा सचेतनामूलक कक्षा समेत सञ्चालन गरिएको गुल्मपति कुँवरले बताए । पछिल्लो समयमा किशोरावस्थाका मानिसहरु लागू औषध दुर्व्यसनमा फसिरहेकाले त्यसको रोकथामका लागि सचेतनामूलक कक्षा सञ्चालन गरिएको उनले बताए । 

यसअघि सशस्त्र प्रहरीले बैतडीको विरेन्द्र मावि शाहीलेकमा पनि लागू औषध दुर्व्यसन, सीमा सुरक्षा र युवाको भूमिकाका बिषयमा निबन्ध तथा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको थियो । यस्तै लागू औषध दुर्व्यसन नियन्त्रणका बिषयमा केन्द्रित रहेर सडक नाटक समेत प्रदर्शन गरिएको थियो । 

आगामी माघ ९ गते सशस्त्र प्रहरी बलले आफ्नो स्थापना दिवस मनाउने तयारी गरेको छ । त्यसअघि दिवसकै अवसरमा विभिन्न कार्यक्रमहरु सञ्चालनमा रहेका सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५१ गुल्म हेडक्वाटर बैतडीका गुल्मपति कुँवरले बताए । 

बैतडीमा सशस्त्र प्रहरीको गुल्म जिल्ला सदरमुकाममा रहेको छ । झुलाघाट, पञ्चेश्वर र शिवनाथ गाउँपालिका गरि तीन ठाउँमा बिओपी सञ्चालनमा रहेका छन् ।

सीमा क्षेत्रका नागरिकसँगको सम्बन्ध बलियो बनाउन र सीमा क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम समेत सञ्चालनमा रहेको गुल्मपति कुँवरले बताए । 
 

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  १८:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update