बैतडी –आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बैतडीबाट एमालेले दामोदर भण्डारीको एकल नाम सिफारिश गरेको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य भण्डारीलाई आज बसेको एमाले जिल्ला कमिटिको बैठकले सर्वसम्मत रुपमा उम्मेदवारका लागि नाम सिफारिश गरेको एमाले बैतडीका अध्यक्ष नरेश विकले बताए ।
भण्डारी विघटित प्रतिनिधि सभा सदस्य हुन् । उनी जेन–जी आन्दोलनले सरकार ढल्नुअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री थिए । भण्डारी बैतडीबाट पछिल्लो तीन निर्वाचनमा विजयी भएका थिए । २०७९ सालको निर्वाचनमा उनले तत्कालीन माओवादी केन्द्रका नरेन्द्र कुवँरलाई पराजित गरेका थिए ।
उनी २०७० सालको संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि विजयी भएका थिए ।
संविधान सभाकै समयमा अर्थराज्य मन्त्री भएका भण्डारी तीन पटक उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री भइसकेका छन् ।




