Sagun Khabar
समाजसेवी पन्तले गरे ‘जेहेन्दार विद्यार्थी अक्षयकोष’स्थापना 

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका, मठैराज घर भएका समाजसेवी गंगादत्त पन्तले घटाल मावि नुवाकोटमा अक्षयकोष स्थापना गरेका छन् । 

मठैराज माविका संस्थापक प्रधानाध्यापक पन्तले आफूले अक्षरारम्भ गरेको विद्यालय घटाल माविमा ‘श्री गंगादत्त पन्त जेहेन्दार विद्यार्थी अक्षय कोष’ स्थापना गरेका हुन् । लगनशील तथा जेहेन्दार विद्यार्थीहरूको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले उनले एक लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन् । 

दुर्गम क्षेत्रमा शिक्षाको ज्योति फैलाउन लामो समयसम्म शिक्षण पेशामा आवद्ध रहेका पन्तले जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरेर अक्षयकोष स्थापना गरेको बताए । 

औपचारिश शिक्षाको शुरुवात घटाल मावि नुवाकोटबाट गरेकाले उक्त विद्यालयमा अक्षयकोष स्थापना गरिएको पन्तले बताए ।

डिलाशैनी गाउँपालिका–४ स्थित घटाल मावि नुवाकोटबाट औपचारिक शिक्षाको शुरुवात गरेको पन्तले शिक्षा केन्द्र अमर मावि धामीगाउँ र डिलेश्वरी मावि हाटमा समेत अध्ययन गरेका थिए । 

उनका पिता स्वर्गीय महानन्द पन्तले विद्यालय स्थापनाका लागि जग्गा दान गरेपछि डिलाशैनी–४ मठैराजमा उनकै नेतृत्वमा मठैराज मावि स्थापना गरिएको थियो । संस्थापक प्रधानाध्यापकका रूपमा पन्तले करिब दुई दशकसम्म विद्यालयको नेतृत्व गरेका थिए । ग्रामीण क्षेत्रमा विद्यालयको भौतिक तथा संस्थागत विकासमा उनको महत्वपूर्ण भूमिका रहेको छ ।

शिक्षा क्षेत्रमा सबैले सहयोग गर्नुपर्छ भन्ने कुरालाई ध्यानमा राखेर विद्यालयमा अक्षयकोष स्थापना गरिएको पन्तले बताए । अक्षय कोषबाट हरेक वर्ष एक छात्र र एक छात्रा गरी दुई जना उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उनले बताए । 
 

प्रकाशित मिति: शनिबार, पुस १९, २०८२  १७:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update