Sagun Khabar
सशस्त्र प्रहरी दिवसको अवसरमा बैतडीमा निबन्ध तथा वक्तृत्वकला प्रतियोगिता 

बैतडी –२५औँ सशस्त्र प्रहरी दिवसको अवसर पारेर सशस्त्र प्रहरी बल नेपाल, ५१ नम्बर गुल्म बैतडीले लागूऔषध सम्बन्धी निबन्ध लेखन तथा वक्तृृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।

दिवसको पूर्वसन्ध्यामा बैतडीको वीरेन्द्र माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा लागूऔषध दुरुपयोग, सीमा सुरक्षा र युवाको भूमिकाबारे केन्द्रित विषयमा विद्यार्थीबीच प्रतिस्पर्धा गराइएको गुल्मपति जंगबहादुर कुँवरले जानकारी दिए ।

वक्तृत्वकला प्रतियोगितामा डम्बरी नाथ  प्रथम, रमन पाण्डेय द्वितीय र लक्ष्मी भट्टले तृतीय स्थान हासिल गर्न सफल भएको गुल्मपति कुँवरले बताए ।

यस्तै, निबन्ध लेखन प्रतियोगितामा कामना भट्ट प्रथम, ज्योती पाण्डेय द्वितीय र जान्हबी खत्री तृतीय भएका छन् । प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, विभिन्न सुरक्षा निकायका प्रमुखहरू, विद्यालयका प्रधानाध्यापक हर्कबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो ।

यस्तै लागू औषध दुर्व्यसन विरुद्ध सडक नाटक पनि प्रदर्शन गरिएको गुल्मपति कुँवरले बताए । 

बैतडीस्थित सशस्त्र प्रहरी बल नेपाल, ५१ नम्बर गुल्मले आउँदो माघ ९ गते औपचारिक रूपमा २५औँ सशस्त्र प्रहरी दिवस मनाउने जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, पुस १९, २०८२  ०७:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update