बैतडी – बैतडीको सुर्नया गाउँपालिका–३ तडीगाउँस्थित वासुदेव आधारभूत विद्यालयको ७६ औं बार्षिकोत्सव विविध कार्यक्रमका साथ शुक्रबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भानदेव भट्टको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवर प्रमुख अतिथी रहेका थिए ।
बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक विरदेव भट्टले विद्यालयको आर्थिक, भौतिक र शैक्षिक प्रतिवेदन पेश गरे ।
बार्षिकोत्सवको अवसरमा विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको विद्यालयका शिक्षक नन्दराज भट्टले बताए ।
यस्तै काठमाण्डौंको किर्तिपुरमा सञ्चालित दिया एजुकेशन सेन्टरका सञ्चालक एवं कोरियन भाषा प्रशिक्षक, विद्यालयका पूर्व विद्यार्थी विवेक भट्ट र भाष्कर भट्टबाट प्राप्त पुरस्कार रकम विद्यालयमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई वितरण गरिएको शिक्षक भट्टले बताए ।
यस्तै सुर्नया २ लिस्किटा घर भएका शिक्षाप्रेमी व्यक्ति भानबहादुर चन्दले वासुदेव आविमा स्थापना गरेको विशास स्मृति अक्षयकोषबाट पनि विद्यालयका प्रथम, दलित विद्यार्थी र छात्रा प्रथमलाई पुरस्कार वितरण गरिएको छ ।
विभिन्न सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको बार्षिकोत्सव समारोहमा सुर्नया गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष शम्भुप्रसाद भट्ट, विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।




