Sagun Khabar
बैतडीको सुर्नयाका प्रमुख प्रशासकीय अधिकृत भारतीको हाजिर नहुँदै सरुवा 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीको गाउँपालिकामा हाजिर नहुँदै सरुवा भएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृत भारतीलाई पौष ६ गते सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत गेटा अस्पतालमा कार्यरत रहेका भारतीलाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको भएपनि उनलाई गाउँपालिकामा हाजिर नहुँदै सरुवा गरिएको हो । 

भारतीको जिल्ला निर्वाचन कार्यालय बैतडीमा सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भारतीको निर्वाचन कार्यालयमा सरुवा गरेको जनाइएको छ । जिल्ला निर्र्वाचन कार्यालय बैतडीमा सरुवा भएको पुष्टि गर्दै भारतीले सोमबारसम्म कार्यालयमा हाजिर हुने बताएका छन् । 

सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुकको सरुवा भएपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन रहेको छ । भारती प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर हुने अपेक्षा गरिएपनि उनी कार्यालयमा हाजिर नहुँदै सरुवा भएपछि फेरि सुर्नया गाउँपालिका निमित्तकै भरमा सञ्चालन हुने देखिएको छ । 

गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक तथा प्रशासनिक कामहरु रोकिएका छन् । सुर्नया गाउँपालिकामा विभिन्न माग राख्दै जेनजी समूहले ३९ दिनसम्म तालाबन्दी समेत गरेको थियो । उनीहरुले उठाएका माग सम्बोधन गर्ने सहमतिपछि असोज २४ गते गरिएको तालाबन्दी मंसिर १ गते खोलिएको थियो । 

गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा पालिकाले सम्पादन गर्ने कामहरु रोकिएका बताइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  १६:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update