बैतडी –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बैतडीको सुर्नया गाउँपालिकामा नयाँ गाउँ कार्यसमिति चयन गरेको छ ।
आज सम्पन्न भएको अधिवेशनले मानबहादुर चन्दको अध्यक्षतामा ३५ सदस्यीय गाउँ कार्यसमिति चयन गरेको राप्रपाका सम्पर्क समाज समन्वय विभाग सदस्य केशवबहादुर चन्दले बताए ।
उक्त समितिको उपाध्यक्षमा धनबहादुर चन्द, महिला उपाध्यक्षमा उर्मिला शाही ठकुरी, सचिवमा खेमराज भट्ट, सहसचिवमा यज्ञराज अवस्थी र हरि भुल, कोषाध्यक्षमा लक्ष्मी चन्द लगायतका अन्य सदस्यहरु चयन भएका छन् ।
सुर्नया गाउँपालिका वडा नं २ का वडा अध्यक्ष एवं राप्रपा नेता गणेशबहादुर बिष्टको अध्यक्षतामा भएको अधिवेशनमा राप्रपाका जिल्ला अध्यक्ष इन्द्रदेवशरण भट्ट प्रमुख अतिथी रहेका थिए ।
उक्त अधिवेशनमा राप्रपाको तर्फबाट प्रतिनिधि सभाका लागि सिफारिश उम्मेदवार भुपेनबहादुर चन्द लगायतको उपस्थिती रहेको थियो ।
सुर्नया गाउँपालिका–२ सतबाँझमा सम्पन्न भएको अधिवेशनमा राप्रपाका नेता र कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
सुर्नया गाउँपालिका राप्रपाका नेता एवं पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गृह पालिका पनि हो ।
राप्रपाले बैतडीका सातओटा स्थानीय तहमा अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ ।




