Sagun Khabar
दशरथचन्द मावि सुन्दरखालीको बार्षिकोत्सव : विद्यालयमा सहयोग गर्नेलाई सम्मान, विद्यार्थीहरुलाई छात्रवृति प्रदान 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका–५ स्थित दशरथचन्द मावि सुन्दरखालीको ६९ औं बार्षिकोत्सव विविध कार्यक्रमका साथ मंगलबार सम्पन्न भएको छ । 

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गीता पाण्डेय जोशीको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्द प्रमुख अतिथी रहेकी थिइन् । समारोहमा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल विशिष्ट अतिथी रहेका थिए । 

बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर चन्दले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै १ करोड ५३ लाख ७९ हजार २९८ रुपैयाँ बराबरको आयव्यय विवरण सार्वजनिक गरे । 

२०१३ साल पौष १५ गते स्थापना भएको विद्यालयले विभिन्न आरोह अवरोह पार गर्दै शिक्षाको ज्योति फैलाइरहेको प्रधानाध्यापक चन्दले बताए । दशरथचन्द माविमा अहिले कक्षा १२ सम्मको पढाइ हुने गरेको छ । 

बार्षिकोत्सवको अवसरमा छलिया नृत्यसहितका विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएका प्रधानाध्यापक चन्दले बताए । 

छात्रवृति कोषबाट छात्रवृति प्रदान 

दशरथचन्द मावि सुन्दरखालीले बार्षिकोत्सवको अवसरमा विभिन्न छात्रवृति कोषबाट विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेको छ । 

पदमराज भट्ट स्मृति शैक्षिक छात्रवृति विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने ८ जनालाई वितरण गरिएको छ । जेहेन्दार, अनुशासित, लगनशील विद्यार्थी छनौट गरेर जनही १ हजार ५ सयका दरले छात्रवृृति वितरण गरिएको प्रधानाध्यापक चन्दले बताए । 

यस्तै मेनेजर तेजबहादुर चन्द स्मृति छात्रवृति कक्षा ११ र १२ मा अध्ययनरत ४ जनालाई २ हजारका दरले प्रदान गरिएको छ । 

यस्तै प्रेमसिंह रावल र कलावतीदेवी रावल स्मृति छात्रवृति एकजनालाई वितरण गरिएको । उक्त छात्रवृतिको राशी ५ हजार रहेको छ । 

कक्षा ९ मा छनौट गरिएको एकजनालाई कक्षा १२ सम्म उक्त छात्रवृति प्रदान गर्ने गरिएको प्रधानाध्यापक चन्दले बताए । उक्त छात्रवृति कक्षा १२ की छात्रा रीता  चन्दलाई प्रदान गरिएको छ । 

यस्तै दशरथचन्द नगरपालिका वडा नं –५ को कार्यालयले गएको तीन बर्षदेखि प्रदान गर्दैै आएको छात्रवृति १२ जनालाई प्रदान गरिएको छ । कक्षा १ देखि १२ सम्मका कक्षा प्रथम हुने विद्यार्थीहरुलाई १ हजारका दरले छात्रवृति प्रदान गरिएको छ । विद्यार्थीहरुको हौसला बढाउन वडाले शैक्षिक छात्रवृति दिने गरेको वडा अध्यक्ष केशवराज लेखकले बताए ।

यस्तै स्वर्गीय तारासिंह रावल स्मृति शैक्षिक छात्रवृति ५ जनालाई २ हजारका दरले वितरण गरिएको छ । उक्त छात्रवृति कक्षा ११ र १२ मा अध्ययनरत जेहेन्दार एक÷एक जना छात्रछात्रालाई प्रदान गरिएको छ । यस्तै एकजना दलित छात्रासहित कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने ३ जना विद्यार्थीहरुलाई उक्त छात्रवृति प्रदान गरिएको प्रधानाध्यापक चन्दले बताए । 

यस्तै स्वर्गीय नारायणदत्त भट्ट र जैमतीदेवी भट्ट स्मृति छात्रवृति कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने ५ जनालाई १ हजार ५५ रुपैयाँका दरले प्रदान गरिएको छ । 

यस्तै विद्यालयले गत बर्षको एसईई ३ जीपीए र सो भन्दा माथि ग्रेड पोइन्ट ल्याउने विद्यार्थी मध्ये प्रथम हुनेलाई एक हजार र बाँकीलाई ५ सयका दरले चार जनालाई छात्रवृति प्रदान गरिएको छ । 

कक्षा १२ मा ३ जीपीए र सो भन्दा बढी ल्याउने ९ जनालाई छात्रवृति प्रदान गरिएको छ । प्रथम,द्वितीय र तृतीय हुनेलाई एक हजारका दरले प्रदान गरिएको छ भने बाँकीलाई ५ सयका दरले प्रदान गरिएको प्रधानाध्यापक चन्दले बताए । 

यस्तै यसै बर्षदेखि विद्यालयमा स्थापना भएको कौशल्यादेवी कार्की स्मृति शैक्षिक छात्रवृति कोषबाट कक्षा ६ मा अध्ययनरत एक जना छात्र र एक छात्रालाई १ हजार ५ सयका दरले प्रदान गरिएको छ । उक्त छात्रवृति कोष स्थानीय अभिभावक प्रदीपसिंह कार्कीले आफ्ना आमाको सम्झनामा स्थापना गरेको हो । उक्त छात्रवृृति अहिले प्राप्त गरेका विद्यार्थीहरुलाई कक्षा १२ सम्म प्रदान गरिने प्रधानाध्यापक चन्दले बताए । 

छात्रवृति कोष स्थापना र विद्यालयलाई सहयोग गर्नेलाई सम्मान 

दशरथचन्द मावि सुन्दरखालीले विद्यालयमा छात्रवृति कोष स्थापना गरेर सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरेको छ । बार्षिकोत्सवको अवसरमा विद्यालयमा छात्रवृति कोष स्थापना गर्ने व्यक्तिहरुलाई सम्मान पत्र र दोसल्लासहित सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक चन्दले बताए । 

विद्यालयमा ६ ओटा छात्रवृति कोष स्थापना भएका छन् । ती कोषहरुबाट हरेक बर्ष विद्यार्थीहरुलाई छात्रवृति प्रदान हुँदै आएको छ । 

यस्तै विद्यालयमा १ लाख ३५ हजार बराबरको पोशाक उपलब्ध गराउने दशरथचन्द नगरपालिका १० बुड्डा घर भइ हाल भारतको खटीमा बस्दै आएका चार्टड एकाउन्टेन्ट नारायण चन्दलाई सम्मान गरिएको छ । 

यस्तै सांस्कृतिक टोलीका लागि पोशाक सहयोग गरेका स्वास्थ्यकर्मी दुर्गादत्त जोशीलाई पनि बार्षिकोत्सव समारोहमा सम्मान गरिएको विद्यालयका शिक्षक नारायण जोशीले बताए । 

यस्तै विद्यालयको चौतर्फी विकासमा सहयोग गरेको भन्दै निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष पार्वती चन्दलाई पनि सम्मान गरिएको छ । गएको १५ बर्षदेखि विद्यालय व्यवस्थापन समितिमा रहेकी चन्द ६ बर्ष अध्यक्ष भएर काम गरेकी थिइन् । 

उनले गत बर्ष सामुदायिक विद्यालयहरुका व्यवस्थापन समितिमध्ये उत्कृष्ट हुँदै राष्ट्रिय शिक्षा पुरस्कार समेत प्राप्त गरेकी थिइन् ।  

बार्षिकोत्सवमा छलिया नाचको आकर्षण 

दशरथचन्द माविको बार्षिकोत्सवको अवसरमा विद्यालयमा अध्ययनरत छात्रहरुले प्रदर्शन गरेको छलिया नाच निकै आकर्षणको रुपमा रहेको थियो । उक्त विद्यालयमा अध्ययनरत छात्रहरु साहिल दमाई र पवन परियारले छलिया नाच प्रस्तुत गरेका थिए । विशाल दमाई,साहिल दमाई,  दिपेश दमाई र डम्मर लुहारले बाजा बजाएर सहयोग गरेका थिए । 

परम्परागत पोशाकमा सजिएका छलिया नृत्यकारहरुले संस्कृतिक संरक्षणका लागि महत्वपूर्ण योगदान पुर्याएको समारोहका सहभागीहरुले बताएका छन् । औपचारिक शिक्षाका साथसाथै संस्कृति संरक्षणमा विद्यार्थीहरुको सहभागिता निकै अर्थपूर्ण र महत्वपूर्ण रहेको छ । 

विद्यालयले हरेक कार्यक्रममा छलिया नाच प्रस्तुत गर्ने गरेको विद्यालयका प्रधानाध्यापक चन्दले बताए । यसले संस्कृति संरक्षणमा सहयोग पुगेको उनले बताए । 

बार्षिकोत्सव समारोहमा बोल्दै दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले शिक्षा क्षेत्र सुधारका लागि आफूले सक्दो पहल गर्ने बताइन् । संस्कारसहितको शिक्षा अहिलेको आवश्यकता भएको भन्दै उनले यसमा सबैको सहयोग आवश्यक रहेको बताइन् । 

यस्तै बार्षिकोत्सवको अवसरमा बोल्दै विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गीता जोशी पाण्डेयले विद्यालयको बृहत्तर विकासमा लाग्ने बताइन् । दशरथचन्द माविले लगातार महिला नेतृत्व पाएको र विगतका राम्रा कामहरुलाई निरन्तरता दिँदै थप सिर्जनतात्मक कार्य गर्ने उनले बताइन् । 
 

प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  १८:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update