बैतडी–बैतडीको सुर्नया गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि वडा नं ६ स्थित शंकर संस्कृत मावि मूलखटालीले हात पारेको छ ।
आइतबार सम्पन्न भएको प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र ४ कास्य गरी कुल १९ पदक हात पार्दै मावि मूलखटालीले लगातार पाचौं पटक उपाधि उचालेको हो ।
यस्तै ६ स्वर्ण, ४ रजत र ४ कास्य पदक गरी १४ पदक जितेर वडा नं ७ स्थित केदार मावि कठमडा दोश्रो भएको छ । गत बर्ष पनि प्रतियोगितामा मावि कठमडा दोश्रो भएको थियो ।
यस्तै २ स्वर्ण, ५ रजत र २ कास्य गरी ९ पदक जितेर वडा नं ६ स्थित सिगास मावि मुसेरौटे प्रतियोगितामा तेश्रो भएको छ ।
यसैगरी २ स्वर्ण, ३ रजत र २ कास्य गरी ७ पदक जितेर वडा नं १ स्थित उच्चाकोट मावि गुर्केली चौथो भएको छ ।
प्रतियोगिताका विजेताहरुलाई आज एक कार्यक्रमकाबीच शिल्ड र प्रमाणपत्र वितरण गरिएको छ ।
गएको बिहीबारदेखि शुरु भएको प्रतियोगितामा पालिकाभरीका १३ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुबाट छनौट गरेर जिल्लास्तरीय प्रतियोगिताका लागि सुर्नया गाउँपालिकाको टीम तयार गरिने बताइएको छ ।
प्रतियोगितामा मावि मूलखटालीले लगातार पाँचौं पटक उपाधि हात पारेपछि विद्यालयले खुशी मनाएको छ । खेलाडी विद्यार्थीहरुको अथक मेहनत र खेल शिक्षकहरुको प्रयासले विद्यालयले शिल्ड हात पारेको विद्यालयका प्रधानाध्यापक भानबहादुर बिष्टले बताए ।
आगामी दिनमा समेत विद्यालयले खेलकुदका गतिविधिहरुलाई निरन्तरता दिने प्रधानाध्यापक बिष्टको भनाइ छ ।
हेर्नुहोस कुन विद्यालयले कति पदक जित्यो ?





