Sagun Khabar
बैतडीको मणिलेक मावि गुरुखोलाको बार्षिकोत्सव सम्पन्न 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–१ स्थित मणिलेक मावि गुरुखोलाको ६९ औं बार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ आज सम्पन्न भएको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर टेरको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्द प्रमुख अतिथी रहेकी थिइन् । 

बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक धिरबहादुर मडैले विद्यालयको शैक्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरे । प्रधानाध्यापक मडैले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत बर्ष विद्यालयको आयव्यय १ करोड ७० लाख ४१ हजार ३३५ रुपैयाँ रहेको छ । 

२०१३ सालमा स्थापना भएको मणिलेक माविमा अहिले कक्षा १२ सम्मको पढाइ हुने गरेको छ । उक्त विद्यालयमा हाल २ सय ९३ जना विद्यार्थी अध्ययनरत रहेका प्रधानाध्यापक मडैले बताए । 

माध्यमिक तह कक्षा ९ र १० मा कम्प्युटर बिषयको पनि पढाइ हुने गरेको उनले बताए । 

बार्षिकोत्सव समारोहमा प्रतिवेदन सार्वजनिक गर्दै प्रधानाध्यापक मडैले आफूले यसै बर्षदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हालेको र विद्यालयको सर्वाङ्गीण विकासमा सक्दो पहल गर्ने बताए । मणिलेक माविलाई उत्कृष्ट शैक्षिक थलोको रुपमा विकास गर्ने लक्ष्य रहेको र यसमा सबैको सहयोगको अपेक्षा गरिएको प्रधानाध्यापक मडैले बताए । 

यस्तै बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले विद्यार्थीहरुमा शिक्षा र संस्कार दुवै कुराको विकास गर्नु उत्तिकै जरुरी रहेको बताइन् । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा अभिभावकहरुको महत्वपूर्ण भूमिका हुने भएकाले सबै पक्षको सहयोग आवश्यक रहेको बताइन् । 

विद्यालयको विकासमा आफूले जिम्मेवारी अनुसार भूमिका निर्वाह गर्ने र सक्दो सहयोग गर्ने समेत उनले बताइन् । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर टेरले मणिलेक मावि गुरुखोलाई नमूना विद्यालय बनाउने योजनामा आफू लागेको र यसमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । विद्यालयमा केही नवीनतम् कामको शुरुवात गर्ने योजना रहेको उनले सुनाए । 

यस्तै विद्यालयको बार्षिकोत्सवको अवसरमा विभिन्न पुराना खेल र पुराना सांस्कृतिक कार्यक्रमहरु समेत सञ्चालन गरिएका थिए । 

बार्षिकोत्सव समारोहमा विद्यालयका कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुका साथै विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । 

बार्षिकोत्सव समारोहमा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  १७:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update