बैतडी–नेपाली कांग्रेस बैतडीले जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम जारी राखेको छ ।
जिल्लाभरीका जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत ७१ वडाका जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गरिएको नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए ।
शनिबार दोगडाकेदार गाउँपालिका अन्तर्गत वडा नं २, ३ र ७ मा रहेका जेष्ठ क्रियाशील सदस्यहरुलाई पार्टी कार्यालय खिरेगाउँमा सम्मान गरिएको छ । यस्तै वडा नं ४ र ५ का जेष्ठ क्रियाशील सदस्यहरुलाई सिल्लेकमा सम्मान गरिएको सचिव चन्दले बताए ।
जेष्ठ क्रियाशील सदस्यहरुले पार्टी संगठन निर्माण र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गर्ने कार्यक्रम राखिएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए । जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान पत्र र खादा लगाएर सम्मान गर्ने गरिएको छ ।
जिल्लाका ८४ ओटा वडामध्ये दोगडाकेदारका चार र पुर्चौंडीका १० वडाका जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गर्न बाँकी रहेको छ । अन्य वडाका जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न भइसकेको कांग्रेस बैतडीका अर्का सचिव देवराज जोशीले बताए ।
दोगडाकेदारमा आज आयोजना गरिएको जेष्ठ क्रियाशील सदस्य सम्मान कार्यक्रममा सभापति चन्दका साथै सचिवद्वय प्रेमबहादुर चन्द र देवराज जोशी, सहसचिव दिपेन्द्रबहादुर चन्द, महासमिति सदस्य कौशिला चन्द लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
दोगडाकेदार गाउँपालिकाको वडा नं ६ र ८ का जेष्ठ क्रियाशील सदस्यहरुलाई यही पौष १५ गते मल्लाढीकमा सम्मान गर्ने कार्यक्रम रहेको छ भने वडा नं १ का जेष्ठ क्रियाशील सदस्यहरुलाई पौष १६ गते रीममा सम्मान गर्ने कार्यक्रम रहेको सचिव चन्दले बताए ।




