Sagun Khabar
बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार ठाउँमा इलाका प्रशासन कार्यालय स्थापना हुने 

बैतडी–सरकारले बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार ठाउँमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले सुदूरपश्चिमका चारसहित देशका विभिन्न नौ ठाउँमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

बैतडीको मेलौली, बाजुराको कोल्टी, डोटीको विपीनगर र दार्चुलाको गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापना हुने बताइएको छ । यस्तै ताप्लेजुङको सिरिजंगा, डोल्पाको धो, मुगुको खत्याड, कालिकोटको रास्कोट, र संखुवासभाको हिदानागढीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय भएको हो ।

मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना हुने निर्णयले यहाँका नागरिक खुसी भएका छन् । अब तल्लोसोराड क्षेत्रका नागरिकलाई नागरिकता बनाउन, नाबालिग सिफारिशका लागि सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य हुने स्थानीय समेत रहेका तरुण दल बैतडीका अध्यक्ष महेशदत्त भट्टले बताए । 

सरकारको यो निर्णय निकै राम्रो रहेको भन्दै उनले यथाशीघ्र कार्यान्वयनमा आउनुपर्नेमा उनले जोड दिए । 

यसअघि बैतडीको पुर्चौंडी हाटमा इलाका प्रशासन कार्यालय सञ्चालनमा रहेको छ । 

प्रकाशित मिति: शनिबार, पुस १२, २०८२  ०७:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update