बैतडी–बैतडीको पाटन नगरपालिकाले जेनजी समूहका लागि डिजिटल मार्केटिङ तालिम सञ्चालन गर्ने भएको छ ।
नगरपालिकाले शुक्रबार एक सूचना प्रकाशन गर्दै ‘युवासँग उपप्रमुख कार्यक्रम’ अन्तर्गत १३ बर्षदेखि २८ बर्ष उमेर समूहका युवाहरुका लागि डिजिटल मार्केटिङ तालिम सञ्चालन गर्ने जनाएको हो ।
उक्त तालिममा सहभागिताका लागि नगरपालिकाभित्रका युवाहरुलाई पौष २५ गतेभित्र अनलाइन फारम भर्न आग्रह गरिएको छ ।
तालिममा सहभागी हुनका लागि पाटन नगरपालिकाभित्र बसोबास गरेको र १३ देखि २८ बर्ष उमेर समूहको नागरिक हुनुपर्ने जनाइएको छ । यस्तै सामाजिक सञ्जालमा सक्रिय र पहुँच भएको व्यक्ति हुनुपर्ने उल्लेख गरिएको छ ।
यस्तै आफ्नै एन्ड्रोइड मोबाइल वा ल्यापटप भएको र चलाउने सीप भएको हुनुपर्ने सुचनामा उल्लेख गरिएको छ । भौतिक र अनलाइन कक्षामा समय दिन सक्ने आवेदकलाई फारम भर्न आग्रह गरिएको छ ।
नगरपालिकाका १० ओटै वडाभित्रबाट ३÷३ जनालाई तालिममा सहभागी गराइने नगरपालिकाले जनाएको छ ।
तालिममा राज्यबाट सुविधा परिचय पत्र पाएका, रोजागारीको अवसर नपाएका, विदेशबाट फर्किएका युवाहरुलाई प्राथमिकता दिइने जनाइएको छ ।
जेनजी समूहका युवाहरुलाई रोजगारीसँग जोड्नका लागि यो तालिम सञ्चालन गर्न लागिएको नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए ।
नवयुवा समूहलाई डिजिटल मार्केटिङसँग जोड्नका लागि यस्तो तालिमको आयोजना गर्ने जिल्लाकै पहिलो पालिका पाटन नगरपालिका भएको प्रमुख प्रशासकीय अधिकृत टेकराज अर्यालले बताए । यसले युवाहरुलाई रोजगारीसँग जोड्न सहज हुने उनले बताए ।





