बैतडी–बैतडीको डिलाशैनी गाउँपालिकाले गर्भवती महिलाहरुका लागि निशुल्क अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
प्रत्येक स्वास्थ्य संस्थाहरुमा पुगेर ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरुको चेकजाँच गर्ने कार्य भइरहेको डिलाशैनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम नाथले बताए ।
गर्भावस्थामा हुन सक्ने जटीलताहरुलाई समयमै पत्ता लगाएर मातृ तथा शिशु मृत्यु रोकथामका लागि ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालनमा ल्याएको स्वास्थ्य शाखा प्रमुख नाथले बताए ।
गाउँपालिकाभरीका सबै स्वास्थ्य संस्थाहरुमा पुगेर सेवा क्षेत्रभित्र रहेका गर्भवती आमाहरुको निशुल्क अल्ट्रासाउण्ड गर्ने गरिएको उनले बताए । गत विगतजस्तै यो बर्ष पनि ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।
आधारभूत स्वास्थ्य केन्द्र डडियामा सञ्चालन भएको शिविरमा १७ जना र गोकुलेश्वर स्वास्थ्यचौकीमा सञ्चालन भएको शिविर १० जनाको निशुल्क अल्ट्रासाउण्ड गरिएको नाथले बताए । अन्य स्वास्थ्यचौकीहरुमा पनि शिविर सञ्चालन हुने उनले बताए ।
गाउँघरकै स्वास्थ्यचौकीमा अल्ट्रासाउण्ड सेवा सञ्चालन भएपछि गर्भवती आमाहरुलाई सहज भएको अनमी जानकी नाथले बताइन् । अल्ट्रासाउण्डबाट पेटभित्रको बच्चा र आमाको स्वास्थ्य अवस्थाका बिषयमा जानकारी लिन सहज हुने उनले बताइन् ।
ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमले दुर्गम क्षेत्रका गर्भवती आमाहरुलाई निकै सहयोग पुगेको डडिया आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत सिनियर अनमी गीता साउँदले बताइन् ।




