Sagun Khabar
लैङ्गिक समानताका लागि चेतनामूलक कार्यक्रमकै खाँचो 

बैतडी –लैङ्गिक समानता कायम गर्नका लागि चेतनामूलक कार्यक्रमको आवश्यकता रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । 

बैतडीको दशरथचन्द नगरपालिकाले देहीमाण्डौंमा सञ्चालन गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले लैङ्गिक समानता कायम गराउन चेतनामूलक कार्यक्रमहरु विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । 

समाजमा रहेका धार्मिक अगुवा, बुद्धिजीवि र अन्य सरोकारवालाहरुसँग गरिएको अन्तरक्रियाका सहभागीहरुले यस्ता कार्यक्रमहरु प्रत्येक वडामा विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । 

लैङ्गिक समानता कायम गराउन भएका कानुनी व्यवस्था, लैङ्गिक सहभागिता र लैङ्गिक हिंसा न्यूनीकरणका लागि समुदायका अगुवाहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको दशरथचन्द नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख लीला कुँवरले बताइन् । 

दशरथचन्द नगरपालिका वडा नं १, २, ३, ७, ९ र ११ बाट सहभागीहरु बोलाएर देहीमाण्डौंमा अन्तरक्रिया गरिएको हो । समुदायका धार्मिक अगुवा, शिक्षक, बुद्धिजीवि सबैलाई एकैठाउँमा राखेर लैङ्गिक समानताका बिषयमा छलफल गरिएको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले बताइन् । उनले भनिन, ‘समानताका लागि घरबाटै शुरुवात गर्नुपर्ने भएकाले हामीहरुले सचेतनामूलक कार्यक्रममा जोड दिएका छौं । कानुनी व्यवस्था र हाम्रो व्यवहारिक अभ्यासका बिषयमा छलफल गरेका छौं ।’

विगतको तुलनामा पछिल्लो समयमा हरेक क्षेत्रमा महिला सहभागिता बढ्दै गएको र यसले लैङ्गिक समानता कायम गर्न सहयोग पुगेको स्थानीय बेलु क्षेत्रीले बताइन् । यस्ता खालका जनचेतनामूलक कार्यक्रमहरु अझै विस्तार हुनुपर्नेमा उनले जोड दिइन् । 

लैङ्गिक समानताका लागि वडास्तरबाटै पनि विभिन्न प्रयासहरु भइरहेका दशरथचन्द नगरपालिका –२ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले बताए । उपभोक्ता समिति गठनदेखि अन्य स्थानमा पछिल्लो समयमा महिला सहभागिता बढ्दै गएको उनले बताए । 

लैङ्गिक समानताका बिषयमा सचेत गराउन वडा नं ४,५, ६, ८ र १० का धार्मिक अगुवा, शिक्षक, बुद्धिजीवि लगायतसँग शुक्रबार त्रिपुरामा अन्तरक्रिया छलफल गर्ने योजना रहेको महिला तथा बालबालिका शाखा प्रमुख कुँवरले बताइन् । 
 

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  १५:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update