बैतडी – बैतडीको पाटन नगरपालिकाका १७ ओटा माध्यमिक विद्यालयहरुलाई खेलकुद सामग्री वितरण गरिएको छ ।
नगरपालिकाको चालु आर्थिक बर्षको बार्षिक स्वीकृत कार्यक्रम अनुसार ‘युवासँग नगर उपप्रमुख कार्यक्रम’ अन्तर्गत विद्यालयहरुलाई खेलकुद सामग्री वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज अर्यालले बताए ।
सोमबार विद्यालयहरुलाई खेलकुद सामग्री हस्तान्तरण गर्दै नगर उपप्रमुख कमलसिंह बोहराले विद्यार्थीहरुको खेलकुदमा रुचि बढाउन र युवा विद्यार्थीहरुको खेलकुदमा सहभागिता बढाउन खेलकुद सामग्री वितरण गरिएको बताए ।
विद्यार्थीहरुको आवश्यकता अनुसार खेलकुद सामग्री उपलब्ध गराएर खेल क्षेत्रको विकासमा ध्यान दिन समेत उनले विद्यालयहरुलाई आग्रह गरेका छन् । खेलकुद सामग्रीको अभावमा बालबालिकाहरु खेलकुदबाट वञ्चित नहोउन भनेर खेलकुद सामग्री वितरण गरिएको उनले बताए ।
प्रत्येक विद्यालयलाई तीन सेट भलिबल, नेट, पम्प, जेब्लिङ थ्रो र सटपुट उपलब्ध गराएको सिद्धेश्वर मावि मेलचौराका प्रधानाध्यापक दिपेन्द्र चाडले बताए । यसले विद्यालयहरुलाई खेलकुद कार्यक्रम अघि बढाउन सहज हुने उनले बताए ।
पाटन नगरपालिकामा यही पौष १५ गतेबाट नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुँदैछ । उक्त प्रतियोगितामा सहभागी हुने विद्यालयहरुलाई खेलकुद सामग्री प्राप्त भएपछि सहज भएको गुजर माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मानसिंह बिष्टले बताए ।




