बैतडी –बैतडीको सुर्नया गाउँपालिका–४ पालिगडाका प्रकाश साउँद अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि छनौट भएका छन् ।
सन् २०२६ को मार्चमा भारतको महाराष्ट्रमा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि साउँदसहित ११ जना छनौट भएको बताइएको छ ।
६८ केजी मुनि तौल समूहमा खेल्नका लागि साउँद छनौट भएका उनका भाइ अशोक साउँदले बताए । भारतमा सञ्चालन हुने उक्त प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहने बताइएको छ ।
साउँदले यसअघि सन् २०२४ मा भारतमै भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा डबल गोल्ड मेडल प्राप्त गरेका थिए । साउँदले कोरिया, बहराइन लगायतका देशमा तेक्वान्दो सम्बन्धी विभिन्न तालिम लिइसकेका छन् ।
उनले यसअघि पनि विभिन्न प्रतियोगितामा सहभागिता जनाइसकेको र प्रशिक्षकको रुपमा समेत काम गरिसकेको जनाइएको छ ।




