Sagun Khabar
हानिकारक प्रचलन हटाउन सक्रिय हुँदै बैतडीका धार्मिक अगुवा 

बैतडी–बैतडीका धार्मिक अगुवाहरुले समाजमा रहेका हानिकारक प्रचलन हटाउन सक्रिय रहने बताएका छन् । 

विभिन्न कुप्रथा र कुसंस्कारका कारण समस्या आइरहेकाले त्यस्ता हानिकारक प्रचलन हटाउन आफूहरु सक्रिय हुन थालेको प्रतिष्ठित धामी समूहका सचिव भानदेव भट्टले बताए । 

समाजमा रहेका बालविवाह, छुवाछुत लगायतका कुप्रथा हटाउन आफूहरु सक्रिय रहेको उनले बताए । 

बालविवाह न्यूनीकरण र किशोरकिशोरीहरुको क्षमता अभिवृद्धिका लागि सक्रिय रहेको संस्था परोपकार ग्रामीण विकास संघले आयोजना गरेको अन्तरक्रियामा सहभागी हुँदै प्रतिष्ठित धामी समूहका अध्यक्ष हरिप्रसाद जोशीले समाजमा रहेका गलत चलन हटाउन आफूहरु सक्रिय रहँदै आएको बताए । हिन्दू धर्मले गृहास्थश्रम २५ बर्षपछि गर्नुपर्ने कुरा उल्लेख गरेको बताउँदै आफूहरु जहिले पनि बालविवाहको विरुद्धमा रहेको बताए । उनले भने, ‘बालविवाह गर्नुहुँदैन भन्ने कुरा हाम्रो शास्त्रमा उल्लेख गरिएको छ । समुदायमा हामी त्यही कुरा भनिरहेका छौं ।’

जातीय विभेद, लैङ्गिक विभेद, बालविवाह जस्ता हानिकारक प्रचलन समाजले पछि चलाएकाले यस्ता कुप्रथाहरुको अन्त्यका लागि प्रतिष्ठित धामी समूहले लामो समयदेखि काम गरिरहेको सचिव भट्टले बताए । उनले भने, ‘हामीले लामो समयदेखि कुप्रथा हटाउन सक्रिय रहेका छौं । समाजमा सकारात्मक सन्देश दिनका लागि हामीहरुले प्रयास गरिरहेका छौं ।’

विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुले सञ्चालन गर्ने अन्तरक्रियात्मक कार्यक्रमहरुबाट पनि धेरै कुरा थाहा हुने भएकाले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने महारुद्र मन्दिरका पूजारी शिवदत्त अवस्थीले बताए । पछिल्लो समयमा धेरै कुरामा परिवर्तन आएको बताउँदै उनले हानिकारक प्रचलन हटाउन आफूहरु सक्रिय रहेको बताए । 

परोपकार ग्रामीण विकास संघले गल्स फस्ट फण्डको सहयोगमा पाटन नगरपालिका–२ र ६ मा कार्यक्रम सञ्चालन गरिरहेको कार्यक्रम संयोजक कुन्ती भट्टले बताइन् । संस्थाले धार्मिक अगुवाहरुसँग अन्तरक्रिया गरेर समाजमा रहेका राम्रा परम्पराहरुको अनुसरण गर्ने र कुप्रथा हटाउने अभियान सञ्चालन गरिरहेको उनले बताइन् । 

धार्मिक अगुवाहरुसँगको अन्तरक्रियाबाट समाजमा रहेका हानिकारक प्रचलन हटाउन सहज हुने भएकाले यस्ता कार्यक्रम सञ्चालन गरिरहेको परोपकार ग्रामीण विकास संघका लेखा अधिकृत हेमन्त अवस्थीले बताए । 
 

प्रकाशित मिति: सोमबार, पुस ७, २०८२  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update