Sagun Khabar
वडामै योजनाको सम्झौता गर्दै पाटन नगरपालिका 

बैतडी–बैतडीको पाटन नगरपालिकाले वडामै पुगेर योजनाको सम्झौता गर्न थालेको छ । 

चालु आर्थिक बर्षमा कार्यान्वयन हुने सबै योजनाहरुको सम्बन्धित वडामै पुगेर सम्झौता गर्ने गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज अर्यालले बताए । 

प्रमुख प्रशासकीय अधिकृत अर्यालसहितको टोलीले वडामै पुगेर योजनाको सम्झौता गर्ने कार्य गरिरहेको नगर प्रमुख गौरीसिंह रावलले बताए । योजनाको सम्झौताका लागि नगरपालिका धाउनुपर्ने उपभोक्ताहरुको झण्झटलाई अन्त्य गर्न यो कार्यको शुरुवात गरिएको उनले बताए । 

सम्बन्धित वडामा पुगेर उपभोक्ता समितिसँग योजनाको सम्झौता गर्ने र उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना कार्यान्वयनका बिषयमा अभिमुखीकरण गर्ने कार्य भइरहेको पाटन नगरपालिकाका योजना शाखा प्रमुख बिरसिंह महताले बताए । 

शुक्रबार पाटन नगरपालिका वडा नं ८ र १० का योजनाहरुको सम्झौता गरिएको छ । वडा नं ८ मा १६ र वडा नं १० मा १९ ओटा योजनाको सम्बन्धित उपभोक्ता समितिहरुसँग सम्झौता गरिएको योजना शाखा प्रमुख महताले बताए । 

यस्तै दुवै वडाका उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना कार्यान्वयनका बिषयमा प्रशिक्षण समेत दिइएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए । सम्बन्धित वडामै योजनाको सम्झौता गर्दा उपभोक्ता समितिलाई सहज भएको उनको दाबी छ ।  

वडामै योजनाको सम्झौता गर्दा बित्तिय अनुशासन समेत कायम हुने पाटन नगरपालिका–८ का वडा अध्यक्ष हरिश बिष्टले बताए । योजनाको सम्झौता गर्दा गुणस्तरीय रुपमा योजना सम्पन्न गर्न उपभोक्ता समितिलाई निर्देशन दिइएको उनले बताए । 

अब बाँकी रहेका वडाहरुमा पनि सम्बन्धित वडामै पुगेर योजनाको सम्झौता गरिने प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए । 
 

प्रकाशित मिति: शनिबार, पुस ५, २०८२  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update