बैतडी–बैतडीको पाटनमा बालविवाह अन्त्यका लागि अभिभावक समूह गठन गरिएको छ ।
बालविवाह न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको संस्था परोपकार ग्रामीण विकास संघले अभिभावक समूह गठन गरेको हो ।
गल्स फस्ट फण्डको सहयोगमा परोपकार ग्रामीण विकास संघले सञ्चालन गरिरहेको बालविवाह न्यूनीकरण र किशोरकिशोरी क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत वडा नं ६ मा अभिभावक समूह गठन गरिएको परोपकार ग्रामीण विकास संघकी कार्यक्रम संयोजक कुन्ती भट्टले बताइन् ।
परोपकार ग्रामीण विकास संघले सञ्चालन गरिरहेको रुपान्तरण कक्षामा सहभागी भएका किशोरकिशोरीहरुका अभिभावकहरुलाई समेटेर उज्जवल भविष्य अभिभावक समूह गठन गरिएको परोपकार ग्रामीण विकास संघका लेखा अधिकृत हेमन्त अवस्थीले बताए ।
अम्बिका चन्दको संयोजकत्वका गठन गरिएको समूहको सह–संयोजकमा जनकसिंह बिष्ट रहेका छन् । समूहले बालविवाह अन्त्यका लागि पैरवी गर्ने बताइएको छ ।
यस्तै बालविवाह अन्त्यका सन्दर्भमा अभिभावकहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै अभिभावकहरुलाई सक्रिय बनाइने कार्यक्रम संयोजक भट्टले बताइन् ।
कार्यक्रममा सहभागी अभिभावकहरुले २० बर्ष मुनिका विवाहलाई पूर्ण रुपमा निरुत्साहित गर्न आफूहरु सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
कार्यक्रममा सहभागी पाटन नगरपालिका वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्टले बालविवाह समाज विकासको बाधक भएकाले यसको अन्त्यका लागि सबै लाग्नुपर्नेमा जोड दिए ।




