Sagun Khabar
शिक्षकको स्थानीय भत्ता निकासाका लागि शिवनाथ गाउँपालिकाको पहल, केन्द्रमा पठायो पत्र 

बैतडी –बैतडीको शिवनाथ गाउँपालिकाले केन्द्रबाट जारी निर्देशन अनुसार स्थायी, अस्थायी र करार शिक्षक तथा प्राविधिक तर्फका सहायक शिक्षकलाई उपलब्ध गराउनुपर्ने स्थानीय भत्ताबापतको रकम उपलब्ध गराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग औपचारिक अनुरोध गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट प्रकाशित कार्यक्रम कार्यान्वयन कार्यविधि अनुसार स्वीकृत दरबन्दीमा कार्यरत स्थायी, अस्थायी र करार तथा प्राविधिक धारका शिक्षक तथा सहायक शिक्षकलाई स्थानीय भत्ता उपलब्ध गराउने व्यवस्था गरिने भनिएको छ । कार्यक्रम कार्यान्वयन कार्यविधि अनुसार शिक्षकहरुलाई साढे १० महिनाका स्थानीय भत्ता उपलब्ध गराउने व्यवस्था रहेको छ । तर  शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रकम नपठाएका कारण भत्ता उपलब्ध गराउन समस्या भएकाले केन्द्रलाई पत्राचार गरिएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । 

नेपाल सरकार, अर्थ मन्त्रालयको मिति २०७९ श्रावण १ गतेदेखि लागू हुने निर्णय अनुसार स्थानीय तहलाई वर्गीकरण गरी स्थानीय भत्ताको व्यवस्था गरिएको हो । सोही निर्णय अनुसार शिवनाथ गाउँपालिका ‘ग’ वर्गमा सूचीकृत भई स्थानीय भत्ता पाउने स्थानीय तहमा पर्दछ ।

गत आर्थिक वर्षमा शिक्षकको स्थानीय भत्ता भुक्तानी हुन नसकेको र चालु आर्थिक वर्षमा शिक्षकहरूले स्थानीय भत्ताको दाबी पेस गरेपछि केन्द्रबाट शिक्षक तलब–भत्ता शीर्षक अन्तर्गत विनियोजित बजेट अपुग हुने अवस्था देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए । 

केन्द्रको निर्देशन बमोजिम पालिकाले स्थानीय भत्ता भुक्तानीका लागि आवश्यक विवरण सङ्कलन गरी माग पेश गरेको छ । विवरण अनुसार आधारभूत तहका शिक्षकका लागि २६ लाख ५५ हजार ५३० रुपैयाँ र माध्यमिक तहका शिक्षकका लागि ११ लाख ३२ हजार ११० रुपैयाँ गरी कुल ३७ लाख ९७  हजार ६४० रुपैयाँ बराबरको रकम थप आवश्यक देखिएको प्रमुख प्रशासकीय अधिकृत महताले बताए । 

पालिकाले केन्द्रबाट आवश्यक थप बजेट उपलब्ध भएलगत्तै शिक्षकको स्थानीय भत्ता नियमानुसार निकासा गरिने उनले बताए । 

केन्द्रको कार्यविधि कार्यान्वयन गर्दै शिक्षकको हक–हित सुनिश्चित गर्न तथा शिक्षण–सिकाइलाई प्रभावकारी बनाउनका लागि पालिकाले हरदम प्रयास गरिरहेको अध्यक्ष साउँदले बताए । 

केही दिन अघिमात्रै नेपाल शिक्षक संघ बैतडीले शिक्षा विकास तथा समन्वय इकाइलाई ज्ञापन पत्र बुझाउँदै स्थानीय तहहरुबाट स्थानीय भत्ता निकासमा सहजीकरण गरिदिन आग्रह गरेको थियो । 
 

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update