बैतडी–बैतडीको पाटन नगरपालिका–४ कुँडी, कल्तडीस्थित नवदुर्गा आधारभूत विद्यालयको ४६ औं बार्षिकोत्सव मंगलबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष प्रेमसिंह बिष्टको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल प्रमुख अतिथी रहेका थिए ।
उक्त कार्यक्रममा नगर उपप्रमुख कमलसिंह बोहरा बिशिष्ट अतिथी रहेका थिए । बार्षिकोत्सव समारोहमा पाटन नगरपालिका–४ का वडा अध्यक्ष दिपकसिंह बिष्ट, वडा नं ३ का अध्यक्ष करुणाकर भट्ट, वडा नं ६ का अध्यक्ष राजेन्द्रसिंह बिष्ट, वडा नं ८ का अध्यक्ष हरिश बिष्ट लगायतको उपस्थिती रहेको थियो ।
बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक दिनेश लामिछानेले ४८ लाख ८७ हजार बराबरको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
यस्तै विद्यालय व्यवस्थापन समितिका सदस्य प्रेमसिंह बिष्टले आफ्नै लगानीमा विद्यालय परिसरभित्र निर्माण गरेको सरस्वती मन्दिरको पनि बार्षिकोत्सवको अवसरमा उद्दघाटन गरिएको छ । उक्त मन्दिर निर्माणमा एक लाख रुपैयाँ लगानी लागेको बताइएको छ ।
यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमसिंह बिष्टले आफ्ना स्वर्गीय बाजे र बज्यैको सम्झनामा नरीगङ्गा स्मृति अक्षयकोष स्थापना गरेका छन् । ५० हजार बराबरको उक्त अक्षयकोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिने बताइएको छ ।
बार्षिकोत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएका थिए । सोही अवसरमा विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार वितरण गरिएको बताइएको छ ।
बार्षिकोत्सव समारोहमा सहभागी भएका पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले शिक्षा क्षेत्रको विकासका लागि नगरपालिकाले सक्दो पहल गरिरहेको बताए ।




