बैतडी–बैतडीको सुर्नया गाउँपालिका–६ स्थित शंकर संस्कृत मावि मूलखटालीको प्रधानाध्यापकमा भानबहादुर बिष्ट नियुक्त भएका छन् ।
विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले बिष्टलाई प्रधानाध्यापक पदमा नियुक्त गरेको हो ।
गणित तथा विज्ञान बिषयमा स्नातक तहसम्म अध्ययन गरेका बिष्टलाई झण्डै ३ दशकको शिक्षण अनुभव रहेको छ ।
आफ्नो शिक्षण पेशाको २१ बर्ष रौलेश्वर मावि रामकी बरायलमा अध्यापन गरेका बिष्ट २०७५ सालदेखि शंकर संस्कृत मावि मूलखटालीमा कार्यरत रहेका छन् ।
विद्यालयको प्रधानाध्यापकमा नियुक्त भएपछि बिष्टले विद्यालयको सर्वाङ्गीण विकासका लागि सबैसँग सहकार्य गर्न आतुर रहेको बताए ।
शंकर संस्कृत माविको आफ्नो अलगै पहिचान रहेको बताउँदै उनले आउँदा दिनमा विद्यालयको चौतर्फी विकासका लागि सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे । विद्यालयसँग सरोकार राख्ने सबै पक्षसँगको सहकार्यमा विद्यालयलाई आधुनिक शिक्षा पद्दति अनुसार अगाडि बढाउने आफ्नो योजना रहेको उनले सुनाए ।
यसअघि उक्त विद्यालयमा २०६७ सालदेखि रामबहादुर बिष्ट प्रधानाध्यापकको रुपमा कार्यरत रहेका थिए । शिक्षा नियमावली अनुसार भानबहादुर बिष्टलाई प्रधानाध्यापकमा नियुक्त गरिएको हो ।
२००९ सालमा स्थापना भएको शंकर संस्कृत मावि मूलखटाली यो क्षेत्रको पुरानो शैक्षिक संस्थाको रुपमा रहेको छ । माध्यमिक तहसम्म संस्कृत बिषयको समेत पठनपाठन हुने यो विद्यालयमा साधारणतर्फको पढाइ पनि हुने गरेको छ । कक्षा १२ सम्मको पढाइ हुने मावि मूलखटालीमा झण्डै तीन सय विद्यार्थी अध्ययनरत रहेका छन् ।
जिल्लाका दुईओटा विद्यालयमा मात्रै संस्कृत पढाइ हुने र त्यो मध्येको एउटा शंकर संस्कृत मावि मूलखटाली रहेको प्रधानाध्यापक बिष्टले बताए ।
संस्कृत र साधारण दुवै शिक्षामा आफ्नो कार्यकालमा नौलोपन ल्याउने प्रधानाध्यापक बिष्टको दाबी छ । यसका लागि शिक्षक, अभिभावक, विद्यार्थी र अन्य सरोकारवाला पक्षहरुको सहयोग आवश्यक रहेको बिष्टले बताए ।




