Sagun Khabar
पाटनका दुई विद्यालयका किशोरकिशोरीमैत्री सूचना केन्द्रलाई सामग्री हस्तान्तरण 

बैतडी –बैतडीको पाटन नगरपालिकामा रहेका दुई विद्यालयका किशोरकिशोरीमैत्री सूचना केन्द्रलाई खेल सामग्री र शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । 

पाटन नगरपालिका–६ स्थित कृष्ण मावि पाटन र पाटन नगरपालिका–२ स्थित सिद्धनाथ मावि सिलङ्गालाई सामग्री हस्तान्तरण गरिएको हो । 

परोपकार ग्रामीण विकास संघले गल्स फस्ट फण्डको सहयोग सञ्चालन गरिएको बालविवाह न्यूनीकरण र किशोरकिशोरीको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत सामग्री हस्तान्तरण गरिएको परोपकार ग्रामीण विकास संघकी कार्यक्रम संयोजक कुन्ती भट्टले बताइन् । 

दुवै विद्यालयका किशोरकिशोरीमैत्री सूचना केन्द्रहरुले माग गरे अनुसारका सामग्री हस्तान्तरण गरिएको परोपकार ग्रामीण विकास संघका लेखा अधिकृत हेमन्त अवस्थीले बताए । 

किशोरकिशोरीमैत्री सूचना केन्द्रहरुलाई प्रभावकारी बनाउन सामग्री हस्तान्तरण गरिएको कार्यक्रम संयोजक भट्टले बताइन् । 

यस्तै कृष्ण मावि पाटनमा अध्ययनरत विद्यार्थीमध्ये अनाथ, टुहुरा र जेहेन्दार चार जनालाई शैक्षिक सामग्री वितरण गरिएको छ । उनीहरुको पढाइमा सहयोग होस भनेर शैक्षिक सामग्री प्रदान गरिएको कार्यक्रम संयोजक भट्टले बताइन् । 

यस्तै सिद्धनाथ मावि सिलङ्गाका चार जना विद्यार्थीलाई पनि शैक्षिक सामग्री वितरण गर्ने योजना रहेको र केही दिनभित्रै शैक्षिक सामग्री वितरण गरिने लेखा अधिकृत अवस्थीले बताए । 

परोपकार ग्रामीण विकास संघले सञ्चालन गरिरहेको रुपान्तरण कक्षामा सहभागीहरुमध्ये दुवै विद्यालयका आठ जनालाई छात्रवृति कार्यक्रम अन्तर्गत शैक्षिक सामग्री सहयोग गर्न छनौट गरिएको परोपकार ग्रामीण विकास संघले जनाएको छ । 

परोपकार ग्रामीण विकास संघले पाटन नगरपालिका वडा नं २ र ६ मा बालविवाह न्यूनीकरण र किशोरकिशोरीहरुको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै आएको छ ।  
 

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update