बैतडी –बैतडीको पाटन नगरपालिकाले नगर क्षेत्रभित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई इन्डक्सन चुलो वितरण गर्ने कार्य जारी राखेको छ ।
गएको मंसिर १९ गते महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारेर वडा नं ८, ९ र १० का २३ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई इण्डक्सन चुलो वितरण गरिएको थियो । त्यसपछि वडा नं ७ का ७ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई चुलो वितरण गरिएको थियो ।
आज पाटन नगरपालिकाको सभा हलमा एक कार्यक्रमको आयोजना गरेर ६४ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई विद्युतीय इन्डक्सन चुलो वितरण गरिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । आज वडा नं २ देखि ६ सम्म महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई चुलो वितरण गरिएको हो ।
नगरपालिकाभरीका १ सय ९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई इण्डक्सन चुलो वितरण गर्ने योजना अनुसार अब वडा नं १ का १५ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई केही दिनभित्रै चुलो वितरण गर्ने योजना रहेको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुको कार्यबोझ घटाउने, वन तथा वातारण संरक्षण गर्ने,महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यसहित इन्डक्सन चुलो वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई चुलो वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख गौरीसिंह रावलले महिला स्वास्थ्य स्वयं सेविकाहरुले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै यो कार्यक्रम सञ्चालनमा ल्याइएको बताए ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउन महत्वपूर्ण योगदान गरेकाले नगरपालिकाले उनीहरुको सम्मान स्वरुप यो कार्यक्रम राखिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज अर्यालले बताए ।




