Sagun Khabar
बैतडीमा पासोमा फसेको चितुवाको सकुशल उद्धार 

बैतडी–बैतडीमा पासोमा फसेको चितुवाको सकुशल उद्धार गरिएको छ । आइतबार राति जिल्लाको सिगास गाउँपालिका–२ धौलाडीको जीमराडीमा चितुवा पासोमा फसेको थियो । 

आइतबार राति पासोमा फसेको चितुवालाई मंगलबार बिहान ११ बजेतिर सकुशल उद्धार गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी नरेश कर्णले बताए । 

स्थानीयहरुले थापेको पासोमा चितुवा फसेको थियो । चितुवाको दाँया खुट्टा पासोमा फसेको र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले उद्धार गरेको सूचना अधिकारी कर्णले बताए । 

पासोमा फसेको चितुवालाई डार्टिङ अर्थात बेहोस गरेर उद्धार गरिएको बताइएको छ । उक्त चितुवालाई सिगास संरक्षित वन क्षेत्रमै छोडिने सूचना अधिकारी कर्णले बताए । 

पशु चिकित्सकसहितको टोलीले घाइते चितुवाको उपचार समेत गर्नेछ । त्यसपछि आजै जंगलमा छोड्ने तयारी भएको कर्णले बताए । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट प्राविधिकहरुको टोली आउनुपर्ने भएकाले चितुवाको उद्धारमा ढिलाइ भएको बताइएको छ । 

सामुदायिक वनको हाताभित्र थापेको पासोमा चितुवा फसेपछि डिभिजन वन कार्यालयले सामुदायिक वनलाई पत्राचार समेत गरेको छ । सामुदायिक वनको हाताभित्र कसले, के प्रयोजनका लागि पासो थापेको हो भन्ने कुरा खुलाउन पत्राचार गरिएको सूचना अधिकारी कर्णले बताए । 

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update