Sagun Khabar
बैतडीको उदयदेव मावि पालिगडाको प्रधानाध्यापकमा साउँद नियुक्त 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका–४ स्थित उदयदेव मावि पालिगडाको प्रधानाध्यापकमा बिरसिंह साउँद नियुक्त भएका छन् । 

विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले साउँदलाई प्रधानाध्यापकमा नियुक्त गरेपछि आजदेखि कार्यभार सम्हालेका छन् । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा  प्रचलित  शिक्षा ऐन तथा  नियमावली अनुसार प्रधानाध्यापक नियुक्त गर्न विद्यालयहरुलाई पत्राचार गरेको थियो । सोही पत्रका आधारमा सुर्नया गाउँपालिकाले विद्यालयहरुलाई प्रधानाध्यापक नियुक्त गर्न निर्देशन दिएको थियो । 

शिक्षा विकास तथा समन्वय इकाइको पत्राचार, गाउँपालिकाको निर्देशन र विद्यालय व्यवस्थापन समितिको निर्णय अनुुसार साउँदलाई प्रधानाध्यापकमा नियुक्त गरिएको हो । 

विद्यालयमा चार दशक प्रधानाध्यापक बसेका कालुसिंह साउँदलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । उनले विद्यालयमा अहिलेसम्म पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । 

यस्तै नवनियुक्त प्रधानाध्यापकलाई एक कार्यक्रमकाबीच स्वागत गरिएको छ । उक्त कार्यक्रममा बोल्दै प्रधानाध्यापक बिरसिंह साउँदले आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र विद्यालयको सर्वाङ्गीण विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

झण्डै दुई दशकदेखि शिक्षण पेशामा आवद्ध रहेका साउँदले शिक्षा शास्त्र र समाजशास्त्रमा स्नातोकोत्तर सम्मको अध्ययन गरेका छन् । २०६३ सालमा शिक्षण पेशामा आवद्ध भएकाले साउँदले २०७१ सालमा शिक्षक सेवा आयोगबाट स्थायी नियुक्ती पाएका थिए । 

२०६३ सालदेखि २०७० सालसम्म उदयदेव माविमै कार्यरत रहेका साउँद स्थायी भएपछि विभिन्न विद्यालयमा सेवा गरेका थिए । त्यसपछि २०७७ सालदेखि उनी उदयदेव माविमै कार्यरत रहेका छन् । 

विद्यालयले योग्य र सक्षम प्रधानाध्यापक पाएको भन्दै स्थानीय अभिभावकहरु खुशी भएका छन् । प्रधानाध्यापक साउँदले आफ्नो कार्यकालमा विद्यालयको चौतर्फी विकास गर्ने दाबी समेत गरेका छन् । 

२०४१ सालमा स्थापना भएको उदयदेव मावि पालिगडामा झण्डै दुई सय विद्यार्थी अध्ययनरत रहेका छन् भने कक्षा १० सम्मको पढाइ हुने गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update