दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सले खेल्दैछन् ।
त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे शुरू हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम र पहिलो पटक उपाधि नजिकै पुगेको लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ । आज उपाधि जित्ने टोली नयाँ विजेता बन्नेछ ।
लुम्बिनीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल कप्तान र सुदूरपश्चिममा राष्ट्रिय टोलीकै उपकप्तान दीपेन्द्रसिंह ऐरी कप्तान रहेका छन् । पहिलो क्वालिफायरमा गएको मङ्गलवार विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम दोस्रो संस्करणको उपाधि नजिक पुगेको हो ।
लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले हराएको थियो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो ।
गएको वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम दोस्रो पटकको फाइनलमा उपाधि जित्ने लक्ष्यमा छ । यसपटक लिग चरणमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले हराएको थियो । त्यस्तै अघिल्लो संस्करणमा लिग चरणबाटै बाहिरिएको लुम्बिनी यसपटक लिग चरणमा सुदूरसँगको हार बिर्सेर उपाधि उचाल्ने योजनामा छ ।
एनपीएलको विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ५१ लाख रुपैयाँ, तेस्रो टोलीले २५ लाख रुपैयाँ र चौथो हुनेले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट एक जना नेपाली खेलाडीले पुरस्कारका रूपमा कार पाउनेछन् ।
यसमा सुदूरपश्चिमका ओपनर विनोद भण्डारी र कप्तान दीपेन्द्रसिंह ऐरी तथा लुम्बिनीबाट कप्तान रोहित पौडेलमध्ये एक जना खेलाडी सर्वोकृष्ट बन्न सक्ने सम्भावना छ । नेपाल क्रिकेट सङ्घको आयोजनामा यही मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागिता थियो ।




