बैतडी –नेपाली कम्युनिष्ट पार्टीले आगामी पौष ५ गते बैतडीमा सन्देश सभाको आयोजना गर्ने भएको छ ।
विभिन्न कम्युनिष्ट पार्टीहरुबीच एकता भएपछि त्यसको बिषयमा जनतालाई जानकारी गराउन सन्देश सभाको आयोजना गर्न लागिएको नेपाली कम्युनिष्ट पार्टीका नेता शंकर भण्डारीले बताए ।
बुधबार बैतडीको पाटनमा सम्पन्न भएको तयारी बैठकले नेता परमानन्द भट्टको संयोजकत्वमा सभा आयोजना मूल समिति गठन गरेको छ । उक्त समितिले सभाका लागि आवश्यक पर्ने सबै काम गर्ने भण्डारीले बताए ।
सन्देश सभामा नेकपाका नेता भीम रावल, भानुभक्त जोशी, खगराज भट्ट लगायतको सहभागिता रहने जनाइएको छ ।
पार्टीहरुबीच एकता भएर नयाँ पार्टी निर्माण भएकाले एकताको सन्देश दिने र नेकपाको उद्देश्यका बारेमा आम नागरिकलाई जानकारी दिन सन्देश सभाको आयोजना गर्न लागिएको भण्डारीले बताए ।




