बैतडी–बैतडीको सुर्नया गाउँपालिका–४ स्थित भौनेली स्वास्थ्यचौकीले चालु आर्थिक बर्षको पहिलो चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।
बार्षिक कार्ययोजना अनुसार हरेक महिना प्रतिवेदन सार्वजनिक गर्ने गरिएको र चौमासिक प्रतिवेदन पनि सार्वजनिक गरिएको भौनेली स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्रसिंह महराले बताए ।
स्वास्थ्यचौकीबाट पहिलो चौमासिकमा १ हजार ८० जनाले सेवा लिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
स्वास्थ्यचौकीले पछिल्लो समयमा गर्भवती महिलाहरुको नियमित रुपमा निशुल्क अल्ट्रासाउण्ड सेवा प्रदान गर्दैै आएको छ । स्वास्थ्यचौकीमै अल्ट्रासाउण्ड सेवा सञ्चालन भएपछि स्थानीयहरुलाई सहज भएको छ ।
अल्ट्रासाउण्ड सेवाले गर्भवती आमाहरुलाई निकै सहज भएको स्वास्थ्यचौकी प्रमुख महराले बताए । गर्भावस्था हुन सक्ने जटीलता समयमै पत्ता लगाउन अल्ट्रासाउण्डले सहज भएको र यसले आमा र शिशुको ज्यान जोगाउन महत्वपूर्ण योगदान गरेको उनले बताए । अल्ट्रासाउण्ड सेवा सञ्चालनमा आएपछि पहिलो चौमासिकमा ५९ गर्भवती आमाहरुले सेवा लिएको स्वास्थ्यचौकी प्रमुख महराले बताए ।
सुर्नया गाउँपालिकाको उत्कृष्ट स्वास्थ्य संस्थाको रुपमा रहेको भौनेली स्वास्थ्यचौकीले आफ्नै पहलमा विभिन्न नवीनतम् कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।
स्वास्थ्यचौकीले बहिरंग बिरामी उपचार सेवा, मातृ तथा शिशु स्वास्थ्य सेवा, सुरक्षित गर्भपतन सेवा, खोप सेवा, पोषण तथा स्वास्थ्य शिक्षा कार्यक्रम, परिवार नियोजन सेवा, सरसफाइ र रोग रोकथाम कार्यक्रम सञ्चालन गर्दै आएको छ ।




