बैतडी –बैतडीको पाटन नगरपालिकाको दान पेटिकामा संकलन भएको रकम लैङ्गिक हिंसा निवारण कोषमा जमा गरेको छ ।
हिंसा प्रभावितहरुलाई सहयोग पुर्याउने उद्देश्यसहित उपप्रमुख कमलसिंह बोहराको कार्यकक्षमा एक बर्र्ष अघि दान पेटिका राखिएको थियो । उक्त दान पेटिकामा स्वेच्छिक रुपमा रकम जमा गर्न सकिने व्यवस्था गरिएको थियो ।
दान पेटिकामा संकलन भएको ९ हजार २ सय २० रुपैयाँ नगरपालिकाको लैङ्गिक हिंसा निवारण कोषमा आज जमा गरिएको नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख बिष्ना भण्डारीले बताइन् ।
हिंसा प्रभावितहरुलाई उक्त कोषबाट सहयोग गरिँदै आएको छ । हिंसामा परेकाहरुलाई सहयोग गर्ने उद्देश्यसहित दान पेटिका राखिएको र उक्त रकम कोषमा जमा गरिएको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए ।
पाटन नगरपालिकाले लैङ्गिक हिंसा निवारण कोषबाट अहिलेसम्म १९ जना हिंसा प्रभावित महिलाहरुलाई सहयोग गरेको छ । हिंसा प्रभावितहरुको आवश्यकता अनुसार उनीहरुलाई सहयोग गर्ने गरिएको महिला तथा बालबालिका शाखा प्रमुख भण्डारीले बताइन् । प्रभावितहरुको जिविकोपार्जनमा सहयोग पुर्याउन कोषको रकम खर्च गर्ने गरिएको छ ।
पाटन नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत १० ओटै वडामा अनुशिक्षण कार्यक्रम समेत सञ्चालन गरिरहेको भण्डारीले बताइन् ।




