Sagun Khabar
बैतडीको त्रिपुरेश्वर माविको बार्षिकोत्सव सम्पन्न, भरत–कविता शैक्षिक अक्षयकोष स्थापना 

बैतडी –बैतडीको पाटन नगरपालिका–५ स्थित त्रिपुरेश्वर मावि कुलडाको ६५ औं बार्षिकोत्सव विविध कार्यक्रमका साथ आज सम्पन्न भएको छ । 

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मानसिंह ठगुन्नाको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहरा प्रमुख अतिथी रहेका थिए । 

बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक रामसिंह बोहराले विद्यालयको आर्थिक, भौतिक र शैक्षिक प्रतिवेदन पेश गरेका थिए । 

बार्षिकोत्सवको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको विद्यालयका शिक्षक डिबी बोहराले बताए । बार्षिकोत्सवको अवसरमा विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको उनले बताए । 

यसैबीच बार्षिकोत्सवको अवसरमा विद्यालयका पूर्व विद्यार्थी भरतसिंह ठगुन्नाले ५० हजार राशीको शैक्षिक अक्षयकोष स्थापना गरेका छन् । 

रोजगारीको सिलसिलामा हाल दक्षिण कोरियामा रहेका ठगुन्नाले वैवाहिक जीवनमा प्रवेश गरेको अवसरमा विद्यालयमा भरत–कविता शैक्षिक प्रोत्साहन अक्षय कोष स्थापना गरेका हुन् । 

विद्यालयलाई अक्षयकोषका लागि ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको र उक्त अक्षयकोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गरिने विद्यालयले जनाएको छ । अक्षयकोष स्थापना गर्नेे पूर्व विद्यार्थी ठगुन्नालाई विद्यालयले प्रशंसा पत्र प्रदान गरेको विद्यालयका प्रधानाध्यापक रामसिंह बोहराले बताए । 
 

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १८:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update