Sagun Khabar
बैतडीमा १ सय ३६ जना एचआइभी संक्रमित 

बैतडी–बैतडीमा १ सय ३६ जना एचआइभी संक्रमित रहेका छन् । 

विश्व एड्स दिवसको अवसरमा स्वास्थ्य कार्यालय बैतडीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उक्त कुराको जानकारी दिइएको हो । 

जिल्लाभरी १ सय ३६ जना एचआइभी संक्रमित रहेका र उनीहरुले एआरटी औषधी सेवन गरिरहेका स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत खगेन्द्र कार्कीले बताए । 

१ सय ३६ जनामध्ये ७४ जना महिला र ६२ जना पुरुष संक्रमित रहेका उनले बताए । एचआइभी संक्रमितहरुलाई गरिने भेदभावका कारण अझै पनि संक्रमितहरु खुलेर बाहिर आउन सकेका छैनन् । 

जिल्लामा सबैभन्दा बढी दशरथचन्द नगरपालिकाका २८ जना संक्रमित रहेका छन् भने पाटन नगरपालिकाका २५ जना, मेलौली नगरपालिकाका १६ जना, पञ्चेश्वर गाउँपालिकाका १४ जना, दोगडाकेदार गाउँपालिकाका १८ जना, डिलाशैनी गाउँपालिका र सुर्नया गाउँपालिकाका १०÷१० जना, शिवनाथ गाउँपालिका ६ जना, पुर्चौंडी नगरपालिका र सिगास गाउँपालिकाका ४÷४ जना संक्रमित रहेका स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बताए । 

यस्तै बैतडीका २१ जना संक्रमित जिल्लाबाहिर दर्ता भएका छन् । 

एचआइभी एड्सका बिषयमा कमजोर बुझाइ र संक्रमितहरुलाई गरिने दुव्र्यवहारका कारण उनीहरु खुलेर बाहिर आउन नसकेका स्वास्थ्य कार्यालयका प्रमुख तीर्थराज भट्टले बताए । 

यस्तै अन्तरक्रिया कार्यक्रममा सहभागी जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्रसिंह धामीले एचआइभी एड्स संक्रमितहरुलाई उपचारको दायरमा ल्याउन स्थानीय सरकारहरुले बिशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् । 

संक्रमितहरुले आफूहरुमाथि विभिन्न खालका भेदभाव हुने गरेको गुनासो गरेका छन् । उनीहरुलाई जिविकोपार्जनमा समेत समस्या रहेको बताइएको छ । 

‘अवरोधहरु पार गरौ, एड्स प्रतिकार्य रुपान्तरण गरौं’भन्ने नारासहित ३८ औं विश्व एड्स दिवस बैतडीमा पनि मनाइएको हो । 
 

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १७:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update