बैतडी–वैदेशिक रोजगारीमा जाँदा दलालको फन्दामा परेर अलपत्र परेका बैतडीका एक युवकको मालदिभ्सबाट सकुशल उद्धार भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडी, कन्सुलर विभाग र वैदेशिक रोजगार विभागको पहलमा अलपत्र युवकको सकुशल उद्धार गरिएको हो ।
दशरथचन्द नगरपालिका–१०, बाराकोटका शंकरसिंह बिष्टलाई दलालले चार लाख रुपैयाँ ठगी गरेर मेलेसिया पठाउने भन्दै मालदिभ्स पठाएपछि उनकी वृद्ध आमा बिस्नादेवी बिष्टले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी थिइन् ।
छोराको सकुशल उद्धार गरिदिन वृद्ध आमा रुदै प्रशासनमा आईपुगेपछि वैदेशिक रोजगार विभागमा पत्राचार गरेको करिब एक महिनापछि बिष्टको सकुशल उद्धार गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।
उनले भने ‘दलालले युवालाई मलेसिया पठाउने भन्दै मालदिभ्सको पीआई एलटिडि नामको कम्पनीमा पु¥याएर दुई पासपोर्टसमेत थुतेर महिनासम्म बन्दक बनाइ राखेको भन्ने व्यहोराको उजुरी आयो । उजुरीको व्यहोरा वैदेशिक रोजगार विभागमा लेखी पठायौं । युवाको उद्धार गर्न वैदेशिक रोजगार विभाग र कन्सुलर विभागका महानिर्देशक दुरपदा सापकोटाले महत्त्वपूर्ण सहयोग गरेर युवकको उद्धार गरि काठमाडौँ ल्याइएको छ ।’
बिष्टलाई यही मंसिर ८ गते काठमाण्डौं ल्याइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । सरकारका सबै निकायको सक्रियतामा उनलाई स्वदेश ल्याउन सफल भएको उनले बताए ।
छोराको उद्धार भएको खबर सुनेपछि वृद्ध आमा र उनकी दिदीले प्रमुख जिल्ला अधिकारीलाई धन्यवाद दिएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय पुगेर उनीहरुले प्रमुख जिल्ला अधिकारीसहित सरकारका सबै निकायलाई धन्यवाद दिएका छन् ।
आठ लाख रुपैयाँ ऋण काढेर वैदेशिक रोजगारमा पठाएको छोरा दलालको फन्दामा परेपछि बिष्ट परिवारलाई निकै समस्या भएको थियो । छोरा सकुशल स्वदेश फर्केपछि खुशी व्यक्त गर्दै सुखदुख गरेर पनि ऋण तिर्न सकिने बिष्नाले बताइन् ।
पछिल्लो समय वैदेशिक रोजगारीमा ठगी हुने गरेका घटना बढेकाले वैदेशिक रोजागारीमा जाने युवाहरु सचेत बन्नु पर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
स्वदेशमा कुनै रोजगारी नहुँदा पछिल्लो समय बैतडीबाट वैदेशिक रोजगारीमा जान राहदानी बनाउने युवाको सङ्ख्या हरेक बर्ष बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षमा बैतडीका करिब दुई हजार युवाले राहदानी बनाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म थप ६२८ जनाले राहदानी बनाएका छन् ।




