बैतडी –भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा सचतेना कक्ष सञ्चालन हुने भएको छ । दशरथचन्द नगरपालिकाले विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा सीमा नाकामा सचेतना कक्ष सञ्चालन गर्ने तयारी भएको नगरपालिकाका सामुदायिक मनोसामाजिक संयोजक पवित्रा भट्टले जानकारी दिइन् ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत मंसिर १८ गतेदेखि २१ गतेसम्म सीमा नाकामा सचेतना कक्ष सञ्चालन हुने उनले बताइन् । उक्त कक्षमा विभिन्न पोष्टरहरु राखिने र आवतजावत गर्ने नागरिकलाई जानकारी दिने उनले बताइन् ।
‘प्रविधिको सही प्रयोग गरौं,लैङ्गिक हिंसा अन्त्य गरौं’भन्ने नारासहित यो बर्ष अभियान मनाइँदैछ । सचेतना कक्षमा प्रविधिको दुरुपयोगबाट हुने हिंसा र बच्ने उपायका बारेमा जानकारी दिइने दशरथचन्द नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख लिला कुँवरले बताइन् ।
सीमा नाकाबाट दुवै देशका नागरिक आवतजावत गर्ने भएकाले प्रविधिको सही सदुपयोगको बिषयमा सचेतना कक्षबाट जानकारी दिइने मनोसामाजिक संयोजक भट्टले बताइन् ।
अभियान अन्तर्गत दशरथचन्द नगरपालिकाले ११ ओटै वडामा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याएको नगर उपप्रमुख कौशिला चन्दले बताइन् ।
हरेक बर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुने गर्दछ ।




