Sagun Khabar
जनकपुरले दियाे काठमाण्डाैलाई १ सय ३१ रनकाे लक्ष्य

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सले काठमाण्डौ गुर्खाजलाई १ सय ३१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन बनायो । जनकपुरका आसिफ शेखले ५४, मयन यादवले अविजित ३४ रन बनाए । काठमाण्डौका मिलिन्द कुमारले ३ विकेट लिए ।

आजदेखि शुरू भएको एनपीएलको फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ । एनपीएलमा जनकपुर, काठमाण्डौसहित, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी आठ वटा टोली सहभागी छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार प्रतियोगिताका कुल ३२ मध्ये २३ खेल राति फ्ल्डलाइटमा हुनेछन् । यस पटक रङ्गशालामा १० हजार जना अट्ने प्यारापिट निर्माण गरिएको छ ।

प्रतियोगिताको विजेता टोलीले एक करोड १० लाख रुपैयाँ प्रदान गरिनेछ । त्यसैगरी उपविजेता टोलीले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो हुनेले १५ लाख रुपैयाँ पाउनेछन् ।

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update