Sagun Khabar
सुर्नयामा तालाबन्दी : स्वास्थ्य संस्थाहरुमा औषधी अभाव, स्वास्थ्य सेवा प्रभावित 

बैतडी–बैतडीको सुर्नया गाउँपालिमा लामो समयदेखि तालाबन्दी हुँदा स्वास्थ्य संस्थाहरुमा औषधीको अभाव भएको छ । 

गाउँपालिकाले औषधी खरीदका लागि गत असोज ९ गते टेण्डर आह्वान गरेको थियो । गत असोज २४ गतेदेखि गाउँपालिकामा तालाबन्दी भएपछि औषधी खरीद प्रक्रिया अगाडि बढ्न नसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । पालिकामा मौज्दात भएको औषधी सकिएको र स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक औषधीको अभाव शुरु भएको उनले बताए । 

स्वास्थ्य संस्थामा सिटामोल, बेटाडीन, गजपट्टी, आइरन चक्की लगायतका अत्यावश्यक औषधीको अभाव भएको वासुलिङ्ग स्वास्थ्यचौकीका प्रमुख दलबहादुर बिष्टले बताए । तालाबन्दीका कारण पालिकाले औषधी आपूर्ती गर्न नसक्दा औषधीको अभाव भएको उनले बताए । उनले भने, ‘हामीले बिना हतियार शिकार खेल्न गए जस्तो भएको छ । स्वास्थ्य संस्थामा औषधी नहुँदा सेवाग्राहीहरुलाई रित्तो हात फर्काउनुपर्ने बाध्यता रही आएको छ ।’

स्वास्थ्य संस्थामा अत्यावश्यक औषधीको अभाव शुरु भएको र सेवाग्राहीहरु मारमा परेको हटैराज स्वास्थ्यचौकीका प्रमुख प्रकाश चन्दले बताए । सिटामोलदेखि लिएर स्वास्थ्यचौकीले वितरण गर्ने अन्य औषधीहरुको अभाव भएको उनले बताए । 

गाउँपालिकामा तालाबन्दी हुँदा औषधी खरीद प्रक्रिया अघि बढ्न नसकेको र स्टोरमा रहेको मौज्दात औषधी सकिएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

सुर्नया गाउँपालिकामा एक महिनाभन्दा बढी समयदेखि तालाबन्दी हुँदा पालिकाले प्रदान गर्ने सबै सेवा प्रभावित भएका छन् । तत्काल तालाबन्दी नखुले स्वास्थ्य क्षेत्रमा झन् समस्या आउने महराले बताए । 

यता तालाबन्दी गर्ने जेनजी–जेनवाइ समूहले गाउँपालिकाले आफ्ना माग पूरा गरे तत्काल ताला खोल्ने जनाएको छ । तत्काल सम्बोधन गर्न सकिने माग सम्बोधन गर्नुपर्ने र तत्काल सम्बोधन गर्न नसकिने मागहरुको लिखित प्रतिबद्धता आए तालाबन्दी खोल्ने जेनजी समूहका अगुवा विशाल भट्टले बताए । 

सुर्नया गाउँपालिका गरिएको तालाबन्दी खोल्ने बिषयमा चार पटक औपचारिक वार्ता भएपनि सहमति भने हुन सकेको छैन् । 

गाउँपालिकाको कार्यपालिका एकमत नहुँदा वार्ता असफल भएको जेनजी समूहले जनाएको छ । आफूहरुले उठाएका मागका बिषयमा कार्यपालिका एकमत भएर निर्णय गर्नुपर्ने जेनवाइ समूहका अगुवा देवबहादुर चन्दले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update