बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा गरिएको तालाबन्दी गाउँपालिकाले माग सम्बोधन गरेमा तत्कालै खोल्ने जेनजी तथा जेनवाई समूह सुर्नयाले जनाएको छ ।
सुर्नया–२ सतबाँझमा आज पत्रकार सम्मेलन गर्र्दै जेनजी समूहका अगुवा विशाल भट्टले आफूहरुले ११ बुँदे माग अघि सारेको र ती माग सम्बोधन गर्ने ग्यारेन्टी भए तालाबन्दी तत्काल खोल्न सकिने बताए ।
गाउँकार्यपालिका एकमत नभएकै कारण लामो समयदेखि गाउँपालिकामा तालाबन्दी जारी रहेको र यसका लागि सुर्नया सरकार जिम्मेवार रहेको उनले बताए । तत्काल सम्बोधन गर्न सकिने मागहरु सम्बोधन गर्ने र अरु मागहरु पूरा गर्ने ग्यारेन्टी गाउँपालिकाकातर्फबाट हुनुपर्ने उनले बताए ।
गाउँपालिकामा गरिएको तालाबन्दीको खोल्ने बिषयमा चार पटक वार्ता भएपनि कार्यपालिका एकमत भएर नआउँदा समस्या भएको जेनवाइ समूहका अगुवा देवबहादुर चन्दले बताए । उनले भने, ‘हामी चार पटक वार्तामा बस्यौं । कुनै पनि वार्तामा कार्यपालिका एकमत भएको देखिएन् । गाउँपालिका सरकारकै कारण तालाबन्दी लम्बिएको छ ।’
गाउँपालिमा सुशासन कायम गर्न, भ्रष्टचार अन्त्य गर्न र आम नागरिकको पहुँच पुर्याउन आफूहरुको संघर्ष रहेकाले भ्रममा नपर्न जनेजी अगुवा भट्टले आग्रह गरे ।
दरबन्दी विहिन कर्मचारीहरुको व्यवस्थापन गर्नुपर्ने, असुल उपर गर्नुपर्ने बेरुजु असुल गर्नुपर्ने, स्थानीय युवा परिषद गठन गर्नुपर्ने, सामाजिक परीक्षण र सार्वजनिक सुनुवाई गर्नुपर्ने, मदिरा विक्रि वितरण नियमन गर्नुपर्ने, जेनजी शहीद परिवारलाई सहयोग गर्नुपर्ने, पालिकास्तरीय खेलमैदान निर्माण गर्नुपर्ने लगायतका आफूहरुका माग रहेका भट्टले बताए ।
जेनजी तथा जेनवाई समूह सुर्नया वार्ता र सम्वादका माध्यमबाटै समस्या समाधान गर्न तयार रहेको बताउँदै भट्टले जबरजस्ती ताला खोले परिस्थिती अर्कै हुने चेतावनी दिए । उनले भने, ‘हामीले गाउँपालिकामा सुधारका माग राखेका छौं । हाम्रा माग सही छन् भनेर जनप्रतिनिधिहरुले भनेका छन् । तर माग सम्बोधनका बिषयमा निर्णय गर्न सकेका छैनन् । त्यसैले सरकारकै कारण तालाबन्दी लम्बिएको छ । हाम्रा माग पूरा नगरी ताला खोले परिस्थिती अर्कै हुन्छ ।’
अहिले सम्मका वार्तामा स्थानीय सरकार जिम्मेवार भएर प्रस्तुत नहुँदा समस्या भएको जेनजी समूहका हरिश कुँवरले बताए । आफूहरु समस्याको शान्तिपूर्ण निकासको पक्षमा रहेको बताउँदै उनले सरकारले जिम्मेवार भएर आउनुपर्नेमा उनले जोड दिए ।
करार कर्मचारी हटाउने बिषयमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै भट्टले आफूहरुले व्यक्तिगत रुपमा कसैलाई हटाउन नभनेको दाबी गरे । तर संघीय परिपत्र र प्रचलित ऐन कानुन विपरीत कर्मचारी राखेको भए पालिका आँफैले हटाउनुपर्नेमा उनले जोड दिए ।
सुर्नया गाउँपालिकामा जेनजी समूहका तर्फबाट गएको असोज २४ गते तालाबन्दी गरिएकोमा अहिले सम्म तालाबन्दी जारी रहेको छ । गाउँपालिकाले आफूहरुले माग गरेका सूचना उपलब्ध नगराएको भन्दै तालाबन्दी गरेको समूहले ११ बुँदे माग अघि सारेको छ ।
गाउँपालिकामा लामो समयसम्म तालाबन्दी हुँदा सेवाग्राही भने मारमा परेका छन् । गाउँपालिकामा तालाबन्दी हुँदा पालिकाले प्रदान गर्ने सबै सेवा ठप्प भएका छन् ।
गाउँपालिकाले जेनजी युवा समूहले उठाएका अधिकांश माग सम्बोधन गर्ने भन्दै सहमतिको ड्राफ्ट बनाएको भएपनि कार्यपालिकामै विवाद हुँदा समस्या भएको बताइएको छ ।




