बैतडी –बैतडीको सुर्नया गाउँपालिकामा करार कर्मचारी संघर्ष समिति गठन गरिएको छ । गाउँपालिकाका विभिन्न निकायमा कार्यरत करार कर्मचारीहरुको बुधबार भएको भेलाले संघर्ष समिति गठन गरेको हो ।
गाउँपालिका अन्तर्गत शिक्षा, स्वास्थ्य, प्रशासन क्षेत्रमा कार्यरत करार कर्मचारीहरुको भेलाले सुरेन्द्रसिंह धामीको संयोजकत्वमा १५ सदस्यीय संघर्ष समिति गठन गरेको हो । उक्त समितिको सहसंयोजकमा गजेन्द्रबहादुर मडै, सचिवमा शरदप्रसाद पन्त, सहसचिवमा नरेन्द्रसिंह बिष्ट, कोषाध्यक्षमा घुम्रा भाट, सहकोषाध्यक्षमा हरिसिंह महरा लगायत अन्य सदस्यहरु रहेका छन् ।
यस्तै दलबहादुर बिष्टको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । उक्त समितिमा लोकबहादुर बिष्ट र खेमराज अवस्थी सदस्य रहेका छन् । उक्त समितिले करार कर्मचारी संघर्ष समितिलाई आवश्यक सल्लाह दिने बताइएको छ ।
यस्तै समितिले गाउँपालिकामा एक महिनाभन्दा बढी समयदेखि गरिएको तालाबन्दीका बिषयमा पनि चासो व्यक्त गरेको छ । तालाबन्दीका कारण सेवाग्राही मारमा परेकाले शुक्रबार गाउँकार्यपालिका, कर्मचारी र तालाबन्दी गर्ने पक्षबीच त्रीपक्षीय वार्ता गर्नका लागि आवश्यक छलफल गर्ने निर्णय भएको संघर्ष समितिका अध्यक्ष सुरेन्द्रसिंह धामीले बताए ।




