बैतडी–लामो समयदेखि बालविवाह न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको संस्था परोपकार ग्रामीण विकास संघले बालविवाह अन्त्यका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
गल्स फस्ट फण्डको सहयोगमा किशोरकिशोरीहरुको क्षमता अभिवृद्धि र बालविवाह न्यूनीकरण कार्यक्रम अन्तर्गत पाटन नगरपालिकामा कार्यक्रम सञ्चालन गरिने संस्थाकी कार्यक्रम संयोजक कुन्ती भट्टले बताइन् ।
पाटनमा आयोजना गरिएको समन्वयात्मक बैठकमा संस्थाले सञ्चालन गरिरहेका कामहरुको बारेमा जानकारी दिँदै उनले आगामी दिनमा पनि बालविवाह न्यूनीकरणका कार्यक्रमहरु सञ्चालन गरिने बताइन् ।
पाटन नगरपालिका वडा नं २ र ६ मा संस्थाले कार्यक्रम केन्द्रित गरेको बताउँदै उनले रुपान्तरण कक्षामार्फत किशोरकिशोरीहरुको क्षमता अभिवृद्धिको काम भइरहेको बताइन् ।
आगामी दिनमा पनि रुपान्तरण कक्षा, अन्तरपुस्ता सम्वाद, धार्मिक अगुवाहरुसँग अन्तरक्रिया, लागू औषध दुव्र्यसनविरुद्ध कार्यक्रम सञ्चालन गरिने उनले बताइन् ।
यस्ता खालका कार्यक्रमहरुले किशोरकिशोरीहरुको क्षमता अभिवृद्धि गर्नुका साथै बालविवाह न्यूनीकरणमा महत्वण भूमिका खेलेको परोपकार ग्रामीण विकास संघका लेखा अधिकृत हेमन्त अवस्थीले बताए ।
बैठकमा सहभागी इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक इन्द्रराज भट्टले यस्ता कार्यक्रमले बालविवाह न्यूनीकरण गर्नमा महत्वपूर्ण सहयोग गर्ने बताए । प्रहरीका तर्फबाट संस्थासँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्न आफूहरु तयार रहेको उनले बताए ।
विद्यालयमा सञ्चालित रुपान्तरण कक्षाले बालबालिकाहरुको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलको भन्दै सिद्धनाथ मावि सिलङ्गाका प्रधानाध्यापक लक्ष्मण बोहराले कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
यस्तै पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले परोपकार ग्रामीण विकास संघले लामो समयदेखि कार्यक्रम सञ्चालन गरिरहेको र यसमा नगरपालिकाकातर्फबाट आवश्यक सहकार्य रहने बताए ।
कार्यक्रममा बोल्दै पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले परोपकार ग्रामीण विकास संघले नगरपालिका क्षेत्रभित्रका किशोरकिशोरीहरुको क्षमता अभिवृद्धि गर्न, हानिकारक प्रचलन अन्त्य गर्न महत्वपूर्ण काम गरेकाले नगरपालिकाकातर्फबाट निरन्तर सहकार्य हुने बताए ।




