बैतडी–बैतडीमा स्वास्थ्य कार्यक्रमको बार्षिक समीक्षा शुरु भएको छ ।
स्वास्थ्य कार्यालयको आयोजनामा स्वास्थ्य कार्यक्रमको बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी आजदेखि शुरु भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए ।
समीक्षा गोष्ठीमा गत आर्थिक बर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको समीक्षा गरिनुका साथै आगामी बर्षका लागि योजना निर्माण गरिने उनले बताए । दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा जिल्लाका १० ओटै पालिकाका स्वास्थ्य शाखा प्रमुख र स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ ।
बार्षिक समीक्षा गोष्ठीको उद्दघाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले स्वास्थ्य क्षेत्र सुधारका लागि सबैले लाग्नुपर्नेमा जोड दिए । स्वास्थ्य संवेदनशील क्षेत्र भएकाले यसलाई सर्वसुलभ बनाउन सबै तहका सरकारको दायित्व उत्तिकै रहेको बताए ।
गोष्ठीको उद्दघाटन सत्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउन स्वास्थ्यकर्मीहरुको महत्वपूर्ण भूमिका रहेको बताए । दुर्गम क्षेत्रमा सेवाभावका साथ स्वास्थ्यकर्मीहरुले काम गरिरहेको बताउँदै उनले आगामी दिनमा यो सेवालाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
स्वास्थ्य कार्यक्रमको बार्षिक समीक्षा गोष्ठीमा स्वास्थ्यका सूचकहरुको अध्ययन गरि सुधार गर्नुपर्ने क्षेत्रमा सुधारका लागि आवश्यक कार्ययोजना बनाइने स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बताए ।
बार्षिक समीक्षा गोष्ठीमा प्रत्येक पालिकाको प्रस्तुतीकरण गरिने, नवीनतम अभ्यासको अरुले पनि सिको गरी स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउने बिषयमा छलफल हुने जनस्वास्थ्य अधिकृत रितेन्द्र बडूले बताए ।
बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीले समग्र जिल्लाको स्वास्थ्य क्षेत्र सुधारका लागि सहयोग पुग्ने स्वास्थ्य प्रमुख भट्टले बताए ।





