बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिकाले दुई दिन स्थानीय सार्वजनिक बिदा दिएको छ ।
पञ्चेश्वर गाउँपालिका–४ आमचौरास्थित प्रसिद्ध कैलपाल मन्दिरमा लाग्ने धुरा जातको अवसरमा सोमबार र मंगलबार सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।
धुरा जातमा स्थानीयहरुको सहभागितालाई दृृष्टिगत गर्दैै कार्तिक २४ र २५ गते सार्वजनिक बिदा दिइएको उनले बताए ।
सार्वजनिक बिदाका दिन गाउँपालिकाकाभित्रका सबै सरकारी तथा गैर सरकारी निकाय, शिक्षण संस्था, बैंक तथा बित्तीय संस्था बन्द रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
धुरा कैलपाल मन्दिरमा हरेक बर्ष मंसिर कृष्ण पक्षको षष्ठी र सप्तमी तिथीमा मेला लाग्ने स्थानीयहरुले बताएका छन् ।
कैलपाल धुरा मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित र सभ्य रुपमा सम्पन्न गर्नका लागि मेला लाग्ने क्षेत्रको चार किल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ ।
पूर्वमा सैनी पिपल चौतारो, पश्चिममा मवाखाल बाटो, उत्तरमा सैनीदेखि मवाइखाल आउने बाटो र दक्षिणमा जवलपुर मावि सम्मको क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ ।
मदिरा निषेधित क्षेत्रमा कसैले मदिराको कारोबार गरेमा ५ हजार रुपैयाँ र मदिरा सेवन गरी होहल्ला गरेमा २ हजार पाँच सय रुपैयाँ जरीवाना तोकिएको पञ्चेश्वर गाउँपालिका वडा नं ४ को कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । कसैले यस्तो कार्य दोश्रो पटक दोहर्याएमा दोब्बर जरीवाना गरिने बताइएको छ ।
उक्त मेला क्षेत्रभित्र जुवातास तथा अन्य आर्थिक प्रलोभनका खेलहरु निषेध गरिएको धुरा मेला व्यवस्थापन समितिले जनाएको छ ।






